नेपाल सुपर लिगको खेल मंसिर ८ गतेदेखी हुने
-आस्था न्यूज
भदौ २५, २०८० काठमाडौं ।
नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसईएम)को आयोजनामा हुने फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ ।
आयोजक एनएसएईमले आइतबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
प्रतियोगिताको उद्घाटन खेलमा मंसिर ८ गते साविक विजेता काठमाडौं रेर्जस र नयाँ टोली स्पोर्ट्ङि इलाम दी मेची फुटबल क्लबबीच प्रतिस्पर्धा हुने छ ।
मंसिर ८ गतेदेखि १४ सम्म सञ्चालन प्रतियोगितामा ९ टोलीको सहभागी हुने छ । यसअघि १० फ्रेन्चाइज टोलीले प्रतियोगिता खेल्ने घोषणा भए पनि प्रतियोगितामा विराटनगर सिटी फुटबल क्लबले नखेल्ने भएपछि ९ टिमले प्रतिस्पर्धा गर्ने भएका हुन् ।
प्रतियोगिताको दोस्रो संस्करणका लागि यसअघि नै अक्सन भइसकेको छ । तर, अक्सनको लामो समयसम्म पनि प्रतियोगिता सञ्चालन हुन नसकेपछि असोज १९ गते पुनः अक्सन हुने छ । यसअघि प्रतियोगिताको पहिलो संस्करण सन् २०२१ मा भएको थियो । कोभिड–१९ महामारीले प्रभावित बनेको पहिलो संस्करण बन्द रंगशालामा सञ्चालन भएको थियो ।
प्रतियोगिताको यस संस्करणमा काठमाडौं रेजर्स, धनगढी एफसी, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी एफसी, पोखरा थन्डर्स, एफसी चितवन, झापा एफसी, स्पोर्टिङ इलाम दी मेची एफसी र विरगन्ज युनाइटेड एफसी गरि नौ सहभागी छन् ।