Trending :
 

भारोत्तोलनमा विकासको तीन वटा नयाँ राष्ट्रिय कीर्तिमान

भाद्र २५,२०८०

-आस्था न्यूज

भदौं २५, २०८० काठमाडौं ।
नेपाली भारोत्तोलन खेलाडी विकास भट्टले, रियादमा जारी आईडब्लुएफ विश्व च्याम्पियनसिपमा तीन वटा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । 
 
पुरुष ८१ केजी तौलसमूहमा विकासले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा गरी तीन वटा विधामा नयाँ राष्ट्रिय कीर्तिमान बनाएको नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिए । 
 
विकासले यसअघि आफ्नै नाममा रहेका किर्तिमान सुधार गरेका हुन् । स्न्याचमा १२४ केजी भार वहन गर्दै नयाँ राष्ट्रिय कीर्तिमान स्थापित गरेका उनले यसअघि  १२३ केजीको कीर्तिमान राखेका थिए । उनले सो कीर्तिमान १९ औं एसियाली खेलकुदको अन्तिम छनोटमा बनाएका थिए ।
 
विकासले क्लिन एन्ड जर्कमा १४८ केजी वजन उठाउदै अर्को कीर्तिमान कायम गरे। यसअघि उनले १९ औं एसियाली खेलकुदकै पहिलो चरणको छनोटमा १४७ केजीको कीर्तिमान रचेका थिए । 
 
कुलमा उनले उठाएको २७२ केजी पनि राष्ट्रिय कीर्तिमान हो । उनकै नाममा २७० केजीको कीर्तिमान थियो । विकास १९ औं एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन् ।
 
यसैबीच अध्यक्ष श्रेष्ठ प्रतियोगिता दौरान हुने विश्व भारोत्तोलन महासंघको कोंग्रेसमा सहभागी हुन सोमबारै रियाद प्रस्थान गरेका छन् । श्रेष्ठसंगै खेलाडी सागर भण्डारी पनि सोमबारै रियाद प्रस्थान गरे ।
 
सागरले पुरुष १०९ केजीमा प्रतिस्पर्धा गर्ने छन् । नेपालले १६ वर्षपछि विश्व भारोत्तोलन च्याम्पियनसिपमा सहभागिता जनाएको हो ।