भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो २०२३, रोयल इनफिल्डको ‘हन्टर’ ४ लाख ५९ हजार मात्रै

भाद्र २६,२०८०

-आस्था न्यूज

भदौं २६, २०८० काठमाडौं ।
नाडा अटो शो आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ ।
 
आज एक विशेष कार्यक्रमका बीच अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले शोको उद्घाट गरेका हुन् ।
 
शो भदौ ३१ गतेसम्म चल्ने छ । अटो शोमा विभिन्न कम्पनीले नयाँ गाडी सार्वजनिक गरेका छन् ।
 
अटो शोमा १ सय २० वटा स्टल रहने छन् । जसमा १६ वटा चारपांग्रे, २२ वटा दुईपांग्रे, ७ वटा कमर्सियल गाडी, ३० वटा लुब्रिकेन्टस र पार्टस्ट लगायतका उपकरण राखिएका छन् । 
 
चारपांग्रेमा विद्युतीय गाडीको बाहुल्य रहेको अटो शोमा १५ अर्ब बढीको बुकिङ तथा कारोबार हुने नाडाको अनुमान छ ।
 
उक्त प्रदर्शनीको शीर्ष प्रायोजक टाटा मोटर्स जेनुइन आयल रहेको छ भने सह–प्रायोजकमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ। 
 
यसैगरी, प्रदर्शनीको डोर प्राइजमा याडिया, टिकटिङ्ग पार्टनरमा खल्ती, अफिसियल इन्टरनेट पार्टनरमा वर्ल्डलिंक, फायर सेफ्टी सपोर्टमा हिटको प्रा.लि. एवम् हस्पिटल पार्टनरमा फ्रन्टलाइन हस्पिटल रहेका छन्।
त्यस्तै विश्व प्रसिद्ध दुई पाङ्ग्रे सवारी रोयल इनफिल्डले नेपाली बजारमा सस्तो मोडल हन्टर ३५० सार्वजनिक गरेको छ । नाडा अटो शो, २०२३ को अवसर पारेर रोयल नेपालका लागि इनफिल्डको आधिकारीक बिक्रेता अल्फा अटोमोटीभले ४ लाख ५९ हजार रुपैयाँमा नै हन्टर ३५० सार्वजनिक गरेको हो ।
 
हन्टर ३५० को टप भेरियन्टको मूल्य ४ लाख ७९ हजार तोकिएको छ । यो हाल लोकप्रिय रोयल इनफिल्ड क्लासिक ३५० भन्दा कम मूल्यमा आएको हो ।
 
कम्पनीले हन्टर रेट्रो, हन्टर मेट्रो दुइ भेरियन्टमा उपलब्ध गराएको नयाँ मोडल विभन्न कलर अप्सन पाउन सकिन्छ ।