Trending :
 

खेलाडीहरुको पुरस्कार रकम भोलि निकासा हुने प्रधानमन्त्रीको भनाई

भाद्र २८,२०८०

-आस्था न्यूज

भदौ २८ २०८० काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि शुक्रबार बस्ने मन्त्रिपरिषद्को बैठकले खेलाडीहरुका लागि घोषणा गरिएको पुरस्कार निकासा गर्ने बताएका छन् ।
 
बिहीबार चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
 
पुरस्कारको रकम अर्थ मन्त्रालयबाट स्वीकृत भई आजैमात्र खेलकुद मन्त्रालयमा पुगेको र भोलिको क्याबिनेटबाट सबै पैसा निकासा गर्ने उनले बताए ।
 
प्रधानमन्त्री प्रचण्डले यसअघि घोषणा भएको पुरस्कार केही प्राविधिक, केही नीतिगत कारणले ढिला हुन गएकोमा दुःख व्यक्त समेत गरे । 
 
उनले भने, ‘यसअघि घोषणा भएको पुरस्कार खेलाडीहरुले आजसम्म पनि नपाएको भन्ने कुरा जानकारी छ । केही प्राविधिक, केही नीतिगत कारणले ढिला हुन गएकोमा दुःख व्यक्त गर्न चाहन्छु । मैले नै घोषणा गरेको पुरस्कार नियमावलीको अभावका कारण निकासामा ढिला भएको थियो अहिले त्यो बनेको छ । अर्थ मन्त्रालयबाट स्वीकृत भई आजै मात्र खेलकुद मन्त्रालयमा पुगेको छ । भोलिको क्याबिनेटबाट सबै पैसा निकासा हुन्छ ।’
 
उनले प्रधानमन्त्रीले घोषणा गरिसकेको कुरा हुँदैन कि भनेर चिन्ता नलिन खेलाडीहरुलाई आग्रह गरे ।