जित्नका लागि एसिएन गेम्स खेल्छौः सदस्य सचिव घिसिङ
-आस्था न्यूज
भदौ २८ २०८० काठमाडौं ।
राष्ट्रिय खेलकुल परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले चीनको होङझोउमा हुने १९औं एसियन गेम्समा नेपालबाट सहभागी सबै टोलीले एउटै मन, मुटु र लक्ष्यका साथ खेल जित्ने गरी प्रदर्शन गर्ने बताएका छन् ।
बिहीबार एसियाडका लागि सहभागी खेलाडीको बिदाई कार्यक्रममा सचिव घिसिङले खेलाडिको तयारी आ-आफ्नै ठाउँमा भएपनि जित्नका लागि एउटै मन, मुटु र उद्देश्य लिएर खेल्ने बताए ।
उनले भने, ‘हाम्रो एउटै लक्ष्य छ, हामी नेपाललाई साँच्चिकै संसारसामु आफ्नो स्वाभिमानलाई उच्च बनाउने गरी एउटै मनका साथ, एउटै मुटुका साथ हामी जित्नका लागि खेल्नेछौ । खेलाडीको तयारी आफ्नो ठाउँमा फरक फरक रहला तर, हामी इमान्दारीसाथ जित्नका लागि खेल्नेछौं ।’
उनले एसियाडमा देशबाट खेल्न पाउँदाको गौरव झल्कने गरी खेलाडीले खुसी र गौरवको साथ खेलको प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।
‘हामी नेपाली टोलीको सदस्य भएकोमा खुसी र गौरवका साथ प्रदर्शन गर्ने छौं’ घिसिङले भने, ‘यो प्रतिबद्धता म सिङ्गो देशलाई र नेपाल सरकारलाई गर्न चाहान्छु ।’
एसियाड समेत भनिने एसियन गेम्स सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको होङझोउमा सञ्चालन हुने छ ।