Trending :
 

दीपक-दीपाको सिनेमा हल आजबाट सञ्चालनमा आउँदै

भाद्र २९,२०८०

-आस्था न्यूज

भदौ २९, २०८० काठमाडौं । 
काठमाडौंको नयाँ बानेश्वर चोक नजिकै दीपकराज गिरी, दीपाश्री निरौलालगायतले निर्माण गरेको सिनेमा हल आजबाट सञ्चालनमा आउने भएको छ । 
 
कलाकार दीपकराज गिरीका अनुसार आज बिहान ८ बजे आईएनआई सिनेमा हल उद्घाटन गरेपछि सिनेमा घर सञ्चालनमा आउनेछ । आजबाट प्रदर्शनमा आएका दुई नेपाली सिनेमा ‘नाङ्गो गाउँ’ र ‘एक भगवत र एक गीत’ तथा ‘जवान’ र ‘दि नुन-२’ प्रदर्शन हुने दीपकले बताएका छन् । 
 
हललाई नेपालको दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईले व्यवस्थापन गर्दै छ ।  
 
पछिल्लो समय नेपाली रजतपटमा सफल जोडीका रूपमा रहेको दीपकराज गिरी र दीपाश्री निरौलालगायत समूहले सिनेमा हल निर्माण गरेर सञ्चालनमा ल्याउन लागेको हो । कोरोना संक्रमणको महामारीका कारण हल निर्माणको काम केही ढिलो भए पनि अन्ततः आजबाट सञ्चालनमा आउने भएको हो ।   
 
दीपक-दीपा सकेसम्म आफ्नै सिनेमा ‘छक्का पञ्जा-४’ रिलिज गरेर यो हल सञ्चालन गर्ने योजनामा थिए । तर, निर्माण कार्य नसकिँदा उनीहरूको यो योजना भने पूरा हुन सकेको थिएन । ‘छक्का पञ्जा–४’ले फागुन १९ गते रिलिज भएको थियो ।  
 
नयाँ बानेश्वर–शंखमुल रोडमा निर्माण भएको सिनेमा हल महलको माथिल्लो दुई तलामा निर्माण गरिएको छ । 
 
दुईवटा स्क्रिन रहने सिनेमा हलमा चारसय सिट रहेका छन् । करिब १० करोड निर्माणलागत रहेको दीपकले बताएका छन् । सिनेमा हलमा दीपकसँगै दीपाश्री निरौला, निर्मल शर्मालगायत ‘छक्का पञ्जा’ टिम र सञ्चारकर्मी प्रभात रिमालको कम्पनीको लगानी रहेको छ ।