Trending :
 

नागरिकका अपेक्षालाई इमान्दार रुपले पुरा गर्न प्रयास गरिरहने छुः प्रस्तावित न्यायाधीश शर्मा

भाद्र २९,२०८०

-आस्था न्यूज

भदौ २९, २०८० काठमाडौं । 
सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश विनोद शर्माले आम नागरिकबाट अपेक्षा गरिएको भूमिका पूरा गर्ने प्रक्रियामा इमान्दार प्रयास गर्ने बताएका छन् । संसदीय सुनुवाइ समितिको आजको बैठकमा आफ्नो अवधारणा र कार्ययोजना प्रस्तुत गर्दै शर्माले सो कुरा बताएका हुन् ।
 
न्यायाधीशलाई वास्तविक न्यायाधीश, आचरण र व्यवहारले बनाउँछ भन्दै उनले तटस्थ र गुणस्तरीय न्याय सम्पादनप्रति पूर्ण प्रतिबद्धतासमेत जनाएका छन् ।
 
उनले भनेका छन्, ‘न्यायपालिकाप्रतिको निष्ठा र आस्था न्यायाधीशको आचरण र व्यवहारबाट प्रदर्शित हुने विषय हो । स्वतन्त्र न्यायपालिकाको अवधारणाको आलोकमा तयार भएको मिलान घोषणापत्र अनुकुल हुने गरी तयार भएको न्यायाधीशहरुको आचारसंहिताद्वारा निर्देशित रही स्वच्छ, सक्षम, निष्पक्ष, तटस्थ र गुणस्तरीय न्याय सम्पादनप्रति मेरो पूर्ण प्रतिबद्धता रहेको छ ।
 
न्यायाधीशको रुपमा प्रमुख भूमिका न्याय सम्पादनमा नै रहने भए पनि न्यायिक सुधार प्रक्रिया र न्यायपालिकाको रणनीतिक योजनाहरुको तर्जुमामा पनि योगदान रहने उनले जनाएका छन् ।