मौसमः बिहान सामान्य बदली, दिउँसो वर्षाको सम्भावना
-आस्था न्यूज
भदौ ३१, २०८० काठमाडौं ।
देशका केही भू-भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । आज बिहान सातवटै प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू-भागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा साथै देशका बाँकी भू-भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको छ । नेपालमा अहिले भारतको पन्जाब र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको विभागको भनाइ छ ।