Trending :
 

एसिसी एसिया कप फाइनलमा आज बलियो भारतलाई श्रीलंकाको चुनौती

भाद्र ३१,२०८०

-आस्था न्यूज

भदौ ३१, २०८० काठमाडौं ।
श्रीलंकाले एसिसी एसिया कप २०२३ को उपाधिका लागि घरेलु मैदानमा बलियो भारतको सामना गर्दै छ । कोलम्बोस्थित प्रेमदासा मैदानमा दिउँसो ३ः१५ बजे हुने फाइनलमा भारत र श्रीलंकाबीचको फाइनल रोमाञ्चक हुने अपेक्षा छ । 
 
भारतले शीर्ष स्थानमा रहँदै अन्तिम दुई तथा श्रीलंकाले सुपर फोरमा पाकिस्तानलाई इनिङ्सको अन्तिम बलमा हराउँदै फाइनल स्थान पक्का गरेको थियो । सुपर फोरको अन्तिम खेलमा भारत अप्रत्याशित रूपमा बंगलादेशसँग ६ रनले पराजित भयो । 
 
६ टोली सहभागी एसिया कपको १६औँ संस्करणमा एसोसिएट राष्ट्र नेपाल र टेस्ट राष्ट्र अफगानिस्तान समूह चरणबाटै बाहिरिएका थिए । नेपाल पहिलोपटक एसिया कपमा सहभागी भएको थियो । श्रीलंकन मौसम विभागले फाइनलको दिन ९० प्रतिशत वर्षा हुने जनाएको छ । वर्षाले प्रभावित भए खेल रिजर्भ डेमा हुनेछ । भारत र पाकिस्तानबीचको सुपर फोरको खेल रिजर्भ डेमा खेलाइएको थियो । 
 
प्रतियोगितामा रोहित शर्माको कप्तानीमा रहेको भारत नै उपाधिको मुख्य दाबेदार मानिएको थियो । भारतले पूर्वकप्तान विराट कोहली, हार्दिक पाण्ड्यासहित पाँच खेलाडीलाई बंगलादेशविरुद्धको खेलमा विश्राम दिएको थियो । यी दुवै खेलाडी उपाधि भिडन्तमा खेल्नेछन् ।
 
बंगलादेशविरुद्ध खेलमा घाइते भएका अक्षर पटेलको स्थानमा स्पिनर वासिंगटन सुन्दर खेल्ने सम्भावना छ । श्रीलंकाका महेश थिक्क्षना पनि घाइते हुँदा फाइनल खेल गुमाउनेछन् ।