अर्थतन्त्रमा समस्या छन् तर सकारात्मक सूचक बढ्दै छन्ः अर्थमन्त्री महत
-आस्था न्यूज
असोज ४, २०८० काठमाडौं ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले, अर्थतन्त्र समस्याग्रस्त भएपनि सकरात्मक सूचक बढ्दै गएकोले आत्तिनु पर्ने अवस्था नभएको बताएका छन् ।
काठमाडौंमा आयोजित निक्षेप तथा कर्जा सुरक्षा कोषको ५० औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै, उनले अर्थतन्त्रमा चलाइएको नकारात्मक कुचक्रलाई सुचक्रमा बद्ल्न निक्षेप तथा कर्जा सुरक्षा कोर्षले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए ।
‘समस्या सम्बोधनका लागि सरकारले फेसिलेट गर्ने काममा कमी हुन दिने छैन । सरकारले अप्ठ्यारा हटाउँदै जानेछ, कतिपय हटिसकेका छन्, घटिसकेका छन् । पर्यटक आगमन बढिरहेको छ । विदेशी मुद्रा सञ्चिति, विप्रेषण प्रवाह बढिरहेको छ । अर्थतन्त्रमा रिर्सोस आइरहेको छ, तर चलायमान भएको छैन । ’
अर्थतन्त्र चलायमान हुँदा आर्थिक गतिविधि बढ्छ, र राजश्वमा परेको दबाब अन्त्य हुने बताएका उनले त्यसका लागि सबैले सकरात्मक प्रयास गर्नु पर्ने बताए ।
अब अर्थतन्त्रमा रिर्सोस छ, यो चलायमान हुँदा आर्थिक गतिविधि बढ्छ, मन्त्री डा. महतले भन्नुभयो, ‘आर्थिक गतिविधि बढ्दा रोजगारी पनि बढ्छ । राजश्वमा परेको दबाब अन्त्य हुन्छ । राजश्वमा दबाब कम भयो भने अपेक्षाअनुसारको लगानी बढ्छ ।’
४ करोड १८ लाख निक्षेप खातामा रहेको १२ खर्ब ८८ अर्ब रकमको सुरक्षा प्रदान गरिरहेको छ । करिब १७ लाख ऋणीलाई कोर्षले सुरक्षा दिइरहेको मन्त्री डा. महतले बताए ।
उनले भने, ‘यसको पहुँच विस्तार भइरहेको छ । साना उद्यमीदेखि आम निक्षेपकर्तालाई सुरक्षा प्रदान गरेको छ । लघु वित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण, कृषि कर्जा सुरक्षणजस्ता कर्जा सुरक्षणको बैंक तथा वित्तीय संस्थालाई दुरदराजमा रहेका निम्न वर्गको पहुँचमा यसले कार्य क्षेत्र विस्तार गरेको छ ।’
‘सरकारले विभिन्न समयमा ल्याएको कृषि अगुवा सुचना, वैदेशिक रोजगार, स्टार्टअप रोजगार जस्ता कार्यक्रमलाई यसले सेवा विस्तार गरेको छ’ मन्त्री डा. महतले भने ‘जब हामी लगानी गछौं, अवश्य पनि जोखिमपूर्ण हुन्छ । त्यो जोखिमलाई न्यून गर्ने विभिन्न तरिका त्यसमा कर्जा सुरक्षा कोषको भूमिका महत्वपूर्ण हुन्छ । साना उद्यमी व्यवसायीको जोखिम जति न्यून गर्न सकियो, त्यत्ति धेरै अर्थतन्त्र चलायमान हुन्छ, रोजगारी सिर्जना गर्छ ।’