Trending :
 

१९औँ हाङझाउ एसियाड आजदेखि सुरु, ४५ राष्ट्रका १२ हजार ५ सय खेलाडी एकै मञ्चमा

आश्विन ०६,२०८०

-आस्था न्यूज

असोज ६, २०८० काठमाडौं । 
चीनको पाँच वर्षको मिहिनेतपछि शनिबारदेखि हाङझाउमा एसियाड सुरु हुँदै छ, तेस्रोपटकको एसियाड आयोजना गर्न कोभिड महामारीका कारण चीनले अनुमानित बजेटभन्दा बढी खर्च गर्नुपरेको छ  
 
चीनले तेस्रोपटक एसियन खेलकुद प्रतियोगिता (एसियाड)आयोजना गर्न धेरै प्रतीक्षा र कठिन परिस्थितिको सामना गर्नुपरेको थियो । सन् २०१८ मा जाकार्ताबाट १९औँ एसियाडको आयोजनाको झन्डा बोकेर आउँदा चीनले सहजै प्रतियोगिता गर्ने अपेक्षा राखेको थियो । जाकार्तामै हाङझाउ सहरमा हुने एसियाड अहिलेसम्मकै भव्य हुने दाबी गरेको थियो । आधुनिक सहरका रूपमा विकास गरेको हाङझाउमा थप नयाँ विश्वस्तरीय रंगशाला, बुलेट ट्रेन र गगनचुम्बी भवनको विकाससँगै चीनले सहभागी ४५ राष्ट्रका खेलाडी, प्रशिक्षक, अफिसियल र उच्चस्तरीय सरकारी पदाधिकारीलाई दंग बनाउने योजना बनाएको थियो ।
 
यसैबीच वुहानबाट सुरु भएको प्राणघातक कोभिड-१९ ले चीनको सुरुवाती योजना बिगार्ने काम गर्‍यो । कोेभिड महामारीकै कारणले हाङझाउमा जुन कल्पना चीनले गरेको थियो, त्यो शतप्रतिशत पूरा गर्न नसकेको स्थानीय समाचार एजेन्सीहरूले उल्लेख गरेका छन् । कोभिड-१९ का कारण अन्य विकसित एसियन राष्ट्रहरूले १९औँ संस्करणको आयोजना दाबीसमेत नगरेको होइन । चीनले जसरी पनि एसियाड हाङझाउमै गर्ने तत्परता देखाइरह्यो । यसका लागि कोभिड–१९ लाई निर्मूल पार्ने प्रयास भयो । 
Hangzhou Asian Games ready to welcome all guests - Global Times
गत वर्ष यसै समयमा १९औँ एसियाड भइसक्नुपर्ने थियो । आयोजक चीनले कोभिड महामारीबाट आफू आश्वस्त नभएका कारण प्रतियोगितालाई एक वर्षपछि सार्‍यो । ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)ले हाङझाउलाई एक वर्षको थप समय दियो । चीनको यही लगातार पाँच वर्षको मिहिनेतपछि शनिबारदेखि हाङझाउमा एसियाड सुरु हुँदै छ । यद्यपि, चीनले तेस्रोपटकको एसियाड आयोजना गर्न अनुमानित बजेटभन्दा बढी खर्च गर्नुपरेको छ । शनिबार मुख्य रंगशालामा ४५ राष्ट्रका खेलाडी, अफिसियल र पदाधिकारीले चीनको तयारी नजिकबाट अवलोकन र अनुभव गर्ने अवसर पाउनेछन् । 
 
चीनले पाहुनालाई मख्ख बनाउन कुनै कसर बाँकी राख्नेछैन । यसपटक करिब १२ हजारभन्दा बढी खेलाडीले भाग लिने अनुमान ओसिएले गरेको छ । रमाइलो पक्ष के छ भने अर्को वर्ष फ्रान्सको पेरिसमा आयोजना हुने ओलम्पिक खेलकुदमा भन्दा बढी खेलाडी हाङझाउमा हुनेछन् । १८औँ संस्करणमा ११ हजार तीन सय खेलाडीले भाग लिएका थिए । सन् २०२० मा जापानको टोकियोमा भएको ओलम्पिकमा दुई सय ६ राष्ट्रबाट समग्रमा ११ हजार चार सय २० खेलाडी उपस्थित भए । अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी) ले पेरिसमा धेरैमा १० हजार पाँच सय खेलाडी हुने जनाएको छ । हाङझाउ एसियाडमा चीन, थाइल्यान्ड, जापान, दक्षिण कोरिया, भारत र हङकङ धेरै खेलाडी पठाउने राष्ट्रमा पर्छन् ।
 
  No description available.