प्रधानमन्त्री प्रचण्ड र चिनियाँ जनकंग्रेसका अध्यक्षबीच भेटवार्ता, केही सहमति पत्रमा हस्ताक्षर
-आस्था न्युज
असोज ८, २०८० काठमाडौं ।
चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लेजीबीच भेटवार्ता भएको छ । उनीहरुबीच आज बिहान चीनको राजधानी बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा भेटवार्ता भएको हो ।
प्रधानमन्त्री प्रचण्डले आजै समकक्षी ली छ्याङसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । उक्त भेटमा बीआरआई सम्बन्धी सम्झौता कार्यान्वयन, व्यापारिक सन्धि पुनरावलोकनका साथै ऊर्जा, कृषि, सूचना प्रविधि लगायतका विषयमा छलफल भएको बताइएको छ । उक्त छलफलपछि केही सहमति पत्रमा दुवै देशका अधिकारीहरुबीच हस्ताक्षर गर्ने कार्यक्रम छ ।
चिनियाँ राष्ट्रपति सी जिनफिङसँग हाङजाउ सहरमा भएको भेटमा भएको कुराकानीका आधारमा सहयोग सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी छ। संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिएर प्रधानमन्त्री प्रचण्ड उतैबाट चीनको औपचारिक भ्रमणका लागि हाङजाउ सहरमा पुगेका थिए ।
चीन बसाइको क्रममा प्रधानमन्त्री प्रचण्डले छोङछिङ्ग महानगरपालिकामा चीनले अपनाएको आधुनिक खेती प्रणालीबारे अवलोकन गर्ने र बेइजिङस्थित नेपाली राजदूतावासले आयोजना गर्ने चीन–नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्ने कार्यसूचीसमेत छ ।
त्यसपछि प्रधानमन्त्री प्रचण्ड नेपालसँग सिमाना जोडिएको चीनको स्वशासित क्षेत्र तिब्बतको भ्रमणमा जानेछन् । प्रधानमन्त्री प्रचण्ड यही सेप्टेम्बर ३० मा नेपाल फर्कने कार्यक्रम छ ।