विवाह मण्डपमा आगलागी हुँदा १ सयको मृत्यु, १ सय ५० घाइते
-आस्था न्यूज
असोज १०, २०८० काठमाडौं ।
इराकको उत्तरी क्षेत्रस्थित एक विवाह समारोहमा आगलागी हुँदा कम्तीमा १ सय जनाको मृत्यु भएको छ । घटनास्थलमा अहिले उद्धार टोली खटिए पनि आगलागीको कारण भने सार्वजनिक भएको छैन ।
इराकको निनेभे प्रान्तस्थि काराकोस जिल्लाको उक्त घटनामा १ सय ५० जना घाइते भएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।
इराकको स्वास्थ्य मन्त्रालयका अनुसार घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको छ । साथै उनीहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा लगिएको छ ।
स्थानीय समय अनुसार मंगलबार राति १० बजेर ४५ मिनेटमा आगलागी सुरु भएको हो । यद्यपि स्थानीय अधिकारीहरूले घाइतेकको संख्याबारे मिश्रित तथ्यांक दिएका छन् । आगलागीबाट नवविवाहित जोडी पनि घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
विवाह समारोहको पार्टी भइरहेको ब्यांक्वेट हलमा आगलागी छोटो समयमै फैलिएको थियो । एजेन्सी