चिकित्सकमाथिको आक्रमणबारे स्वास्थ्यमन्त्रीः एक्लो प्रयासले केही हुन्न

आश्विन १२,२०८०

-आस्था न्युज

असोज १२, २०८० काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले स्वास्थ्य क्षेत्रको सुधारको लागि सबै एकताबद्ध भएर लाग्न आवश्यक भएको बताएका छन् । 
 
प्रतिनिधि सभा अन्तरगत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा चिकित्सकहरुमाथि हुने गरेको दुर्व्यवहारको सम्बन्धमा गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय र स्वास्थ्यसँग सम्बन्धित संघ संस्थाहरुसँगको छलफलमा उनले स्वास्थ्य क्षेत्रलाई शान्ति क्षेत्रको रुपमा विकास गर्नु सबैको दायित्व भएको बताए । 
 
उनले भने ‘शान्ति सुरक्षाको हिसाबले यो क्षेत्रलाई व्यवस्थित गर्न हामी सबैको दायित्व हो, हामीले गर्ने नै हो र यसको साथै अरु व्यवस्था गर्नको लागि सबैले आँट गरेर दरो भएर प्रस्तुत हुनुपर्छ ।’
 
उनले स्वास्थ्य क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न स्वास्थ्यकर्मी र गृहमन्त्रालयको समन्वयमा स्वास्थ्य मन्त्रालयले आवश्यक समन्वय गरिरहेको  पनि रहेको बताए ।
 
उनले भने, ‘स्वास्थ्य मन्त्रालयले आफ्नो अभियान अगाडि बढाएको छ, जसमा सम्बन्धित डाक्टरसंग समन्वय पनि रहेको छ । गृहमन्त्रालय पनि अगाडि बढेको छ।’
 
दरबन्दी नेपाल सरकारको पैसाले सिर्जना गर्ने हो भने, उपकरणको लागि  अन्तराष्ट्रिय संस्था, निकाय र डाक्टरहरुको राष्ट्रिय सम्मेलनबाट भएपनि पैसा ल्याउन सक्ने उनको भनाई छ । 
 
त्यस्तै उनले चिकित्सा शिक्षा ऐनमा केही राम्रा पक्षहरुको सुरुवात भएको दाबीसमेत गरे । 
 
‘चिकित्सा शिक्षा ऐनले केही राम्रा पक्षहरु सुरुवात भएको छ, तर त्यो सुरुवात भएका कुराले हाम्रो राज्यलाई पुगेन र हामीलाई चाहिने आधारभूत स्वास्थ्य सेवा उपलब्ध हुने कुरामा यो उत्पादनले स्वास्थ्यकर्मीहरु पाँच वर्षपछि हामीले खोज्नु पर्ने दिन आउँछ । चिकित्सा शिक्षा ऐनमा केही कमिकमजोरीहरु छ, त्यसलाई सुधार गर्नका लागि यो संशोधनको प्रक्रियामा जाने भन्ने प्रधानमन्त्रीको पनि निर्देशन रहेको छ । यो काम पनि अगाडि बढ्ने कुरा छ ।’
 
त्यस्तै उनले खरिद प्रक्रियाबारे पनि आवश्यक सुधार भएको जिकिर गरे । ‘उपकरणको विषयमा धेरै कुराहरु उठ्यो, जुन अस्पतालमा अलि बढि खरिद प्रक्रिया सुरु हुन्छ त्यहाँ जान अलिबढि इच्छा जाहेर हुने गरेको पाँए । उपकरणहरु किन्ने तर त्यसको प्रयोग नभएको उपकरणको विवरण र अहिलेको अवस्थाको बारे जानकारी गराउन निर्देशन दिएपछि प्रयोगमा नभएको उपकरणहरुलाई दुर्गम स्थानहरु पठाउने काम भयो । ’