Trending :
 

स्वीट्जरल्याण्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौताको तयारी

आश्विन १२,२०८०

-रासस

असोज १२, २०८० काठमाडौं ।
नेपालले अन्तर्राष्ट्रिय हवाई सञ्जाल विस्तार गर्ने क्रममा युरोपेली मुलुक स्वीट्जरल्यान्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी गरिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ ।
 
विश्वका ४० मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरेको नेपालले स्वीट्जरल्यान्ड, इन्डोनेसिया र रुवान्डासँग हवाई सम्झौताको तयारी गरेको मन्त्रालयका नागरिक उड्डयन महाशाखा प्रमुख एवं सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिनुभयो । तीनवटै मुलुकसँग हवाई सम्झौताका लागि आवश्यक कागजी प्रक्रिया पूरा भइसकेकाले समय र स्थान तय गरेर सम्झौता गरिने उहाँको भनाइ छ ।
   
सहसचिव लामिछानेले भन्नुभयो, “अहिले तीन मुलुक स्वीट्जरल्याण्ड, रुवाण्डा र इन्डोनेसियासँग नयाँ हवाई सम्झौता गर्ने प्रक्रियामा छौँ, हवाई सम्झौताको मस्यौदालाई छिट्टै मन्त्रिपरिषद्बाट स्वीकृत गराएर सम्झौताका लागि समय र स्थान तय गरिनेछ ।”
     
क्यानाडाको मोन्ट्रियलमा भएको अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन ९आइकाओ०को ४१औँ महासभाका अवसरमा दुई देशबीच प्रारम्भिक हवाई सम्झौताको सैद्धान्तिक सहमति भएको थियो । नेपाल र स्वीट्जरल्यान्डबीच एयर कनेक्टिभिटीका लागि एमओयु भएको र अरू धेरै मुलुकसँग पनि एमओयु  पाइपलाइनमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
    
द्विपक्षीय हवाई सम्झौता अन्तर्राष्ट्रिय कूटनीतिको महत्वपूर्ण अङ्ग पनि भएकाले यसलाई क्रमशः विस्तार गर्दै लाने सरकारको नीति छ । हवाई सम्झौता नेपालको गौरवसँग जोडिएको विषय पनि हो ।
     
मन्त्रालयका सहसचिव लामिछानेले नेपालले विभिन्न मुलुकसँग गरेका सम्झौताका माध्यमबाट ती मुलुकबीच संरचनागत सम्बन्ध कायम हुने तथा द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ तुल्याउने विश्वास व्यक्त गर्नुभयो । आइकाओको मापदण्डअनुरुप दुई मुलुकबीचको हितमा रहेर द्विपक्षीय हवाई सम्झौता गरिन्छ ।
 
सहसचिव लामिछानेले कुवेत र युएईको पुरानो हवाई सम्झौता समीक्षा गर्न लागिएको पनि जानकारी दिनुभयो । “कुवेत र युएईको पुरानो हवाई सम्झौता समीक्षा गर्न उनीहरुबाटै माग भई आएकाले नेपालले पनि त्यसलाई स्वीकार गरी काम सुरु भएको छ”, उहाँले भन्नुभयो ।
 
नेपालले हाल ४० देश र युरोपेली सङ्घ ९ईयु० गरी ४१ मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरेको छ । तीमध्ये २० भन्दाबढी गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भइरहेको छ । सरकारले पछिल्लो पटक अष्ट्रेलियासँग हवाई सेवा सम्झौता गरेको थियो ।
     
सरकारले चालु आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा नयाँ मुलुकसँग हवाई सेवा सम्झौता गर्ने घोषणा गरेको छ । मुलुकमा निर्माण सम्पन्न भएका अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णक्षमतामा उपयोग गर्न नयाँ मुलुकसँग हवाई सम्झौता गरिने उल्लेख छ । सरकारले नयाँ मुलुकसँग हवाई सम्झौता गरी नेपाली वायुसेवा कम्पनीको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने नीति लिएको छ ।
     
नेपालले मध्यपूर्वी एशियाली मुलुक इन्डोनेसियासँग पनि छिट्टै हवाई सेवा सम्झौता गर्नेगरी तयारी गरेको छ । दुई मुलुकबीच हवाई सम्झौताको अन्तिम तयारी भइरहेको पर्यटन मन्त्रालयले जनाएको छ । इन्डोनेसिया–नेपाल दुईतर्फी उडानका लागि मन्त्रालयले आधिकारिक जिएसए तोकिसकेको छ ।
 
इन्डोनेसियाको गरुडा एयरका लागि नेपालको सोसाइटी इन्टरनेशनल आधिकारिक जिएसए रहेको छ । आगामी वर्षदेखि गरुडा एयरको जिएसए व्यवस्थापन गरिने सोसाइटी ट्राभलका सञ्चालन प्रमुख संगीता रौनियारले बताउनुभयो । यस्तै अफ्रिकी मुलुक रुवान्डासँग पनि नेपालले हवाई सम्झौतामार्फत दुई देशबीचको सम्पर्क विस्तार गर्न लागेको मन्त्रालयको भनाइ छ ।