चीन भ्रमणमा रहेका प्रधामन्त्री प्रचण्ड र सिचुवान प्रान्तका सेक्रेटरी वाङबीच भेटवार्ता
-आस्था न्युज
असोज १२, २०८० काठमाडौं ।
चीनको औपचारिक भ्रमणमा रहनुभएका सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र छेन्दुमा चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका सेक्रेटरी एवं सिचुवान प्रान्तीय जनकांग्रेसको स्थायी समितिका अध्यक्ष वाङ साहोई नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलबीच द्विपक्षीय भेटवार्ता भएको छ ।
भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सी, प्रधानमन्त्री लीसहितको उच्चस्तरीय भेट वार्ता र दुई देशको तर्फबाट जारी वक्तव्य स्मरण गर्दै छुङकिङ, तिब्बत र सिचुवानको भ्रमण र पार्टी प्रमुखहरुसँगको भेटवार्ताले सहमति कार्यान्वयन र दुई देशबीच नयाँ र उच्चस्तरको सम्बन्ध विकासमा नयाँ कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डले नेपाल र चीनबीच सम्पन्न नयाँ व्यापार सन्धिले नेपाल अब भूपरिवेष्ठित देश होइन भू-सम्बन्ध जोड्ने देश भएको बताएको सचिवालयले भनेको छ ।
सो क्रममा सिचुवान प्रान्तका पार्टी सेक्रेटरी वाङले प्रधानमन्त्री प्रचण्ड चीनको असल साथी भएको र उनी नेतृत्वमा नेपाल-चीन सम्बन्ध नयाँ आधारमा विकास हुने विश्वास व्यक्त गरेको बताइएको छ ।
वाङले नेपाल र चीन बीच भएको समझदारी कार्यान्वयन गर्न आफूहरु प्रतिबद्ध रहेको समेत बताएका छन् ।
प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल शनिबार छेन्दुबाट नेपाल फर्किने कार्यक्रम छ ।