भाडाबापतको रकम नउठ्दा जनकपुरधामको बाल मन्दिरलाई खर्च धान्न मुस्किल
-आस्था न्युज
असोज १३, २०८० काठमाडौं ।
जिल्ला बाल सङ्गठन धनुषाको स्वामित्वमा रहेको जनकपुरधामस्थित श्री आधारभूत विद्यालय (बाल मन्दिर)बारे जानकारी नभएका सायद कोही होलान् । विसं २०३३ देखि सञ्चालित बाल मन्दिरले गरिब तथा असहाय बालबालिकाको पठनपाठन र लालनपालनको जिम्मेवारीसमेत सम्हाल्दै आएकाले पनि परिचित थियो । तर विसं २०७४ पछि भने यहाँ अन्य सार्वजनिक सामुदायिक विद्यालयमा जस्तै नियमित पठनपाठन मात्रै भइरहेको छ ।
कक्षा सातसम्म अध्ययन अध्यापन हुने बाल मन्दिरमा अहिले दुई सय ६४ विद्यार्थी छन् । त्यसैगरी प्राविमा तीन, निमाविमा एक, बाल विकासमा दुई, स्वयंसेवक दुई र कार्यालय सहयोगी एक जना गरी नौ शिक्षक कर्मचारी कार्यरत छन् । यसमध्ये प्राविका तीन स्थायी शिक्षकबाहेक छ जना करारमा काम गरिरहेका छन् । करारमा काम गर्ने छमध्ये सहयोगीसहित तीन ९दुई स्वयंसेवकसहित० को तलब बाल मन्दिर आफँैले व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी छ ।
कुनै बेला जनकपुर क्षेत्रमा प्रसिद्ध यो बाल मन्दिर पछिल्लो समय भने समस्याले घेरिँदै छ । आर्थिक अभावले शैक्षिक सुधारका क्रियाकलाप सञ्चालन गर्न नसक्दा विद्यार्थी घट्दो क्रममा छन् । आन्तरिक स्रोतबाट व्यवस्थापन गर्नुपर्ने कर्मचारीलाई तलब खुवाउनै मुस्किल छ । रेखदेख, नियमन र व्यवस्थापनका लागि विसं २०७४ मा पुरानो समिति विघटन भएपछि अभिभावकत्व निर्वाह गर्ने कुनै समिति छैन । यसले गर्दा समस्यामाथि समस्या छन् । आर्थिक अभावले अतिरिक्त शैक्षिक गतिविधि सञ्चालन र कर्मचारीलाई तलब खुवाउन समस्या भोगिरहेको यस विद्यालयमा आन्दानीको आन्तरिक स्रोत नभएको पनि होइन, वार्षिक छ लाखभन्दा बढी त भाडा रकम मात्रै उठ्नुपर्नेछ । तर त्यसरी भाडा तिर्ने सहमतिसहित बाल मन्दिरकै संरचनामा उच्च तहको शिक्षा दिइरहेको एउटा निजी क्याम्पसले नियमितरुपमा भाडा नतिर्दा निकै समस्या भएको प्रधानाध्यापक श्यामप्रसाद साहले जानकारी दिनुभयो ।
बाल मन्दिरकै संरचनामा विगत करिब २५ वर्षदेखि भाडामा सञ्चालित सो पब्लिक युथ क्याम्पसले भाडाबापतको करिब रु ३४ लाख बक्यौता तिर्न बाँकी हुँदा शैक्षिक सुधारका क्रियाकलाप सञ्चालन र विगत छ÷सात महिनादेखि आन्तरिक स्रोततर्फका कर्मचारीलाई तलब खुवाउनसमेत नसकेको उहाँको गुनासो छ । यसले गर्दा गुणस्तरीय शिक्षण सिकाइ र अतिरिक्त क्रियाकलाप सञ्चालन हुन नसक्दा भएकै विद्यार्थी पनि घट्दो अवस्थामा रहेका र तलब खुवाउन नसक्दा शिक्षक पनि निराश रहेका उहाँले बताउनुभयो ।