Trending :
 

थानकोटमा प्रसूति विशेषज्ञ सेवा अस्पताल बन्ने

आश्विन १४,२०८०

-आस्था न्युज

असोज १४, २०८० काठमाडौं ।
जर्मन सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा चन्द्रागिरि नगरपालिकामा प्रसूति विशेषज्ञ सेवा अस्पताल निर्माण हुने भएको छ । यसका लागि जर्मन विकास बैंक (केएफडब्लू) ले बजेट निकासाको आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।
 
चन्द्रागिरि-४ स्थित थानकोटमा रु एक अर्ब लगानीमा निर्माण हुने अस्पतालका लागि जर्मन सरकारद्वारा परामर्शदाता तथा प्राविधिक छनोट भइसकेको छ । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र केएफडब्लूका प्रतिनिधिमण्डल बीचमा सम्पन्न बैठकमा केएफडब्लू प्रतिनिधिले नगरप्रमुखलाई उक्त जानकारी गराएको हो । केएफडब्लूका प्रतिनिधिले अस्पताल बन्ने स्थानको स्थलगत अवलोकनसमेत गरेको नगरप्रमुख गिरीले जानकारी दिनुभयो । 
 
सो अवसरमा नगरप्रमुख गिरीले अस्पताल बनाउन नगरपालिकाले हालसम्म गरेको काम र अगामी दिनमा गर्नुपर्ने समन्वय र सहजीकरणबारेमा प्रतिनिधिलाई जानकारी गराउनुभएको थियो । 
 
नगरप्रमुख गिरीले अस्पताल बनाउन नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट २३ रोपनी जग्गा प्राप्तिको प्रक्रिया टुङ्गो लगाइसकिएको केएफडब्लुका प्रतिनिधिलाई जानकारी गराउनुभएको थियो । सो अवसरमा उहाँले थानकोटमा नगरपालिकाले २५ श्ययाको ‘डायलासिस’ सेवासहितको अस्पताल बनाउन बोलपत्र प्रक्रिया सकेर निर्माण सुरु गरिसकेको बताउनुभयो । अस्पतालको भवन करिब रु १९ करोडको लागतमा बन्न लागेको हो ।  
 
बैठकमा प्रतिनिधिमण्डलले नगरप्रमुखलाई प्रसूति विशेषज्ञ अस्पताल बनाउन ‘केएफडब्लू’बाट बजेट निकासाका लागि आवश्यक प्रक्रिया अगाडि बढ्न लागेको र जर्मन सरकारले परामर्शदाता तथा प्राविधिक पनि छनोट गरिसकेको जानकारी दिएको थियो । साथै यही साता नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र अर्थ मन्त्रालयसँग केएफडब्लूले थप सम्झौता प्रक्रिया अगाडि बढाउन लागेको जानकारीसमेत दिएको नगरप्रमुख गिरीले बताउनुभयो ।   
 
बैठकमा चन्द्रागिरि नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खड्गी तथा प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालको पनि सहभागिता थियो । विशेषज्ञ अस्पताल चार वर्षभित्रमा सम्पन्न हुने लक्ष्य राखिएको छ ।