Trending :
 

ट्रयाक खुलेको ८ वर्षसम्म पनि भएन सालझण्डी–ढोरपाटन सडकको स्तरोन्नति

आश्विन १४,२०८०

-आस्था न्युज

असोज १४, २०८० काठमाडौं ।
राष्ट्रिय प्राथमिकताको योजना सालझण्डी-ढोरपाटन सडकको बागलुङ खण्डमा ट्र्याक खुलेको आठ वर्ष वितिसक्दा पनि स्तरोन्नतिको काम सम्पन्न भएको छैन । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनलाई जोड्न निर्माण भएको उक्त सडक अहिलेसम्म स्तरोन्नति हुन नसक्दा स्थानीय र पर्यटकले वर्षौँदेखि सास्ती खेप्दै आएका छन् । 
 
सरकारले तराई–पहाड जोड्नका लागि बनाएको योजनाको काम कछुुवागतिमा भइरहेको छ । कलिपलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी र बागलुङ जिल्लालाई जोड्ने उक्त सडकखण्डमा अहिले स्तरोन्नति तथा कालोपत्रको काम निर्माण कम्पनीले गरिरहेको सालझण्डी–ढोरपाटन आयोजना कार्यालयका इञ्जिनियर सरोज आचार्यले बताउनुभयो ।
 
पर्यटकलाई सहज रुपमा ढोरपाटन ल्याउने उद्देश्यले सडक स्तरोन्नति थालिए पनि काम नसकिदा यातायातका साधान गुड्न नसकेका स्थानीय बताउँछन् । 
 
“कूल एक सय ९१ किलोमिटरमध्ये बागलुङ खण्डमा मात्रै ६१ मिलोमिटर सडक पर्छ”, उहाँले भन्नुभयो, “त्यसमध्ये चार किलोमिटर सडक राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग पर्ने हुँदा कालोपत्र भइसकेको छ ।” बाँकी ५७ किलोमिटर सडक निकै साँघुरो र जोखिमपूर्ण रहेको इञ्जिनियर आचार्यले बताउनुभयो । उहाँका अनुसार सडक स्तरोन्नति गरी ग्राभेलिङ गर्नका लागि गतवर्ष कार्तिकमा सम्झौता भएको थियो । 
 
सडक खुलेको दशक बित्नै लाग्दा पनि स्तरोन्नति हुन नसक्दा आवागमनमा सास्ती हुने गरेको निसीखोलाका चुराबहादुर कुँवरले बताउनुभयो । गुल्मी, अर्घाखाँची, पाल्पा र कपिलवस्तु खण्डमा कामले गति लिए पनि बागलुङ खण्डमा काम हुन नसकेको उहाँको भनाइ थियो । उक्त खण्डमा हालसम्म करिब ३० प्रतिशत काम भएको आयोजना कार्यालयले जनाएको छ । 
 
“यस खण्डमा दैनिक सयौँ स्थानीय तथा पर्यटकले जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । आयोजनाको बुर्तिबाङ–ढोरपाटन खण्डअन्तर्गत बोबाङमा तीन वर्ष अगाडि आएको बाढीले धेरै स्थानमा सडक बिगारेको थियो”, कुँवरले भन्नुभयो, “बाढीले क्षति पु¥याएको खण्डमा यात्रा गर्न निकै जोखिमपूर्ण छ ।”
 
सडक समयमै स्तरोन्नति नहुँदा ढोरपाटन नगरपालिका–६, ७, ८ र ९ तथा निसीखोला गाउँपालिका–७ का स्थानीयवासी बढी मर्कामा परेका उहाँले बताउनुभयो । सडक सहज नहुँदा गाउँबाट बुर्तिबाङ बजार झर्न निकै मुस्किल पर्ने गरेको उहाँको भनाइ थियो । 
 
कुँवरले निसीखोलाको राजकुट, हर्पे, कुडुला, ढालपानी लगायतका गाउँमा बुर्तिबाङ बजारबाटै दैनिकी उपभोग्य सामान ल्याउनु पर्ने भन्दै सडकका कारण महँगो भाडा तिर्न बाध्य भएको बताउनुभयो । साँघुरो र अप्ठ्यारो सडकका कारण यात्रा गर्न पनि जोखिमपूर्ण रहेको उहाँको भनाइ थियो ।