दसैंका लागि काठमाडौंलाई खसीबोका खरिद गर्न गाउँगाउँमा पसे व्यवसायी
खाद्य कम्पनीले मात्रै २ हजार खसीबोका र १ हजार च्यांग्रा ल्याउने:
-आस्था न्युज
असोज १५, २०८० काठमाडौं ।
दसैं नजिकिँदै गर्दा सरकार र व्यवसायीले डेढ अर्ब रुपैयाँभन्दा बढीका खसीबोका र च्यांग्रा भित्र्याउने तयारी थालेका छन् ।
सरकार र व्यवसायीले गरी उपत्यकामा १ अर्ब ६० करोड रुपैयाँभन्दा बढीका खसीबोका र च्यांग्रा ल्याउन लागेका हुन् ।
सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २ हजार खसी र १ हजार च्यांग्रा ल्याउने बताएको छ । यसका लागि ८ करोड ३३ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन गरिएको कम्पनीका बिक्री वितरण विभाग प्रमुख भीमबहादुर थापाले जनाए ।
निजी व्यवसायीले भने ५० हजार खसीबोका र १० देखि १५ हजार च्यांग्रा ल्याउने बताएका छन् । एउटा खसीको औसत तौल ३५ देखि ४० किलो हुने काठमाडौं चौपाया खरिदबिक्री प्रालिका अध्यक्ष जनक खड्काको भनाइ छ ।
नको औसत मूल्य २० देखि २२ हजार पर्छ । ‘२० हजारका दरले ५० हजार खसीबोकाको मूल्य १ अर्ब रुपैयाँ हुन्छ । गत वर्षझैं यस वर्ष करिब १० देखि १५ हजार च्यांग्रा ल्याउँने उनले बताए ।
खाद्य कम्पनी, पशु सेवा विभाग र व्यवसायीसहित भएको बैठकमा निजीतर्फबाट ५० हजार खसीबोका, खाद्यले २ हजार खसीबोका र १ हजार च्यांग्रा ल्याउने निर्णय भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले जनाए ।
सोहीअनुसार गाउँगाउँमा खसीबोका खरिद प्रक्रिया सुरु गरिने उनको भनाइ छ । सरकारी खसीबोका यही असोज २१ बाट बिक्री थालिने छ। प्रतिकिलोमा १० रुपैयाँ छुट दिने उनले बताए ।
यसपालि स्वदेशमै उत्पादित खसीबोका र च्यांग्रा खरिदबिक्री गर्ने लक्ष्य रहेको उनले बताए । जिल्ला जिल्लामा उत्पादन बढेकाले स्वदेशी उत्पादनलाई नै प्राथमिकता दिन आग्रहसमेत गरिएको उनको भनाइ छ ।