हरवाचरवा मुसहर समुदायका बालबालिकाको शिक्षातर्फ आकर्षण बढ्दै
-आस्था न्युज
असोज १५, २०८० काठमाडौं ।
पढ्ने उमेर भए पनि सप्तरीको शम्भुनाथ नगरपालिका-७ भगवतपुरस्थित मुसहर बस्तीका ९ वर्षीय सतिश सदा विद्यालय जाँदैनथे ।
उनी घरदेखि करिब पाँच सय मिटरकै दूरीमा विद्यालय भए पनि विद्यालय नगई घरमै खेलेर समय बिताउँदथे । तर अहिले उनी झोलामा कपी किताब बोकेर पढ्न विद्यालय जान थालेका छन् ।
सोही ठाउँका ११ वर्षीय अशोक सदाको पनि अहिले दिनचर्या फेरिएको छ । उनी पनि अहिले घर नजिकै रहेको बुद्धिलाल मुनर माध्यमिक विद्यालय अध्ययन गर्न थालेका छन् ।
यसरी सतिश र अशोक मात्र होइन, पछिल्लो समय अति पिछडिएको ती बस्तीका हरवाचरवा मुसहर समुदायका बालबालिकाको शिक्षाप्रतिको आकर्षण बढ्दै गएको छ । केही वर्षअघिसम्म अत्यन्त न्यून सङ्ख्यामा मात्र मुसहर बालबालिका विद्यालय जाने गरेकोमा पछिल्लो समय ती समुदायबाट विद्यालय जाने बालबालिकाको सङ्ख्या उत्साहजनक रुपमा बढ्दै गएको पाइएको छ ।
हरवाचरवा र मुसहर समुदायको उल्लेख्य बसोबास रहेको सप्तरीको शम्भुनाथ नगरपालिका–७ भगवतपुर, वडा नम्बर २ कनकपट्टी, वडा नम्बर ३ डङगराही र वडा नम्बर ५ स्थित मोहनपुरका मुसहर बालबालिका अचेल नियमित विद्यालय जान थालेका छन् ।
सो नगरपालिकाका हरवाचरवा परिवारका बालबालिकालाई लक्षित गरी श्रीपुर्राज सामुदायिक विकास केन्द्रले सञ्चालन गरेको शैक्षिक अभियानअन्तर्गत निःशुल्क बाल ‘ट्युसन’ कक्षा सञ्चालन गरेपछि विद्यालय जाने दलित बालबालिकाको सङ्ख्या बढ्दै गएको हो ।
विगत तीन वर्षदेखि ती वडाबाट हरवाचरवा र मुसहर समुदायका विद्यालय जाने बालबालिकाको सङ्ख्या १२ थियो, तर सो संस्थाले द फ्रिडम फन्डको सहयोगमा ‘सामाजिक परिचालन तथा शिक्षाको माध्यमबाट हरवा चरवाको सशक्तिकरण कार्यक्रम’ अन्तर्गत जनचेतना अभियान, अभिभावक भेला तथा निःशुल्क बाल कक्षा सञ्चालनमा ल्याएपछि अहिले विद्यालय जाने विद्यार्थीको सङ्ख्या तीन सयभन्दा बढी पुगेको हरवाचरवा शम्भुनाथ नगर बाल क्लबका अर्जुन सदाले जानकारी दिनुभयो ।