पर्वतमा एक विद्यार्थीका लागि तीन शिक्षक, विद्यालय विद्यार्थीविहीन बन्दै
-आस्था न्युज
असोज १५, २०८० काठमाडौं ।
पर्वतका सामुदायिक विद्यालय विद्यार्थीविहीन बन्दै गएका छन् । अवसरको खोजीमा गाउँबाट बसाई सर्नेक्रम बढेपछि विद्यालय खाली हुँदै गएका हुन् ।
यस्तै समस्या रहेको छ, कुश्मा नगरपालिका–१२ ठूलीपोखरीको अर्जिकोटस्थित सहिद शुक्र आधारभूत विद्यालयमा । कक्षा ५ सम्म पढाइ हुने उक्त विद्यालयको तीन वटा भवनमा आठ वटा कक्षाकोठा छन् । तीन शिक्षकको दरबन्दी रहेको सो विद्यालयमा एक सहायक कर्मचारीसमेत रहेका छन् तर मा विद्यार्थी भने एक जना मात्र छ ।
कक्षा १ मा पढ्ने एक छात्राबाहेक विद्यार्थी नै छैनन् । तीन जना शिक्षकले दिनभर ति एउटी छात्रालाई रुघेर बस्नुपरेको छ । शिशुकक्षा, कक्षा २, ३, ४, ५ पूरै खाली रहेको विद्यालयका प्रधानाध्यापक शिवप्रसाद तिवारीले बताउनुभयो ।
कुनै समय २५÷३० जनासम्म एउटै कक्षामा विद्यार्थी भएकामा अहिले विद्यार्थी सङ्ख्या न्यून रहेको उहाँको भनाइ थियो । एक÷दुई जना विद्यार्थी भए पनि आफूहरु नियमित विद्यालय आउने, हाजिर गर्ने र पढाउने काम गरिरहेको प्रधानाध्यापक तिवारीले बताउनुभयो । आफूहरु गुणस्तरीय शिक्षा दिन सक्षम भए पनि विद्यार्थी नै नआएपछि के गर्ने भन्ने अन्योल रहेको उहाँको भनाइ थियो ।
विसं २०२६ मा स्थापना भएको यो विद्यालयमा विगत पाँच वर्षयता विद्यार्थीको खडेरी लागेको हो । कक्षा पाँचसम्म यो विद्यालयमा अध्ययन गर्ने र कक्षा ६ देखि सोही वडामा रहेको जनता सुदर्शन मावि वा त्रिभुवन आधारभूत विद्यालयमा जाने गरेको भए पनि विद्यार्थी नै नहुँदा विद्यालय नै सङ्कटमा पर्दै आएको कार्यालय सहयोगी नारायण गौतमले बताउनुभयो ।