Trending :
 

दसैँ गीतका पर्याय विष्णु खत्री

आश्विन १५,२०८०

-आस्था न्युज

असोज १५, २०८० काठमाडौं ।
‘सुनको जलप 
यो दसैँमा घर आउने मन थियो
पापी साहूले दिन्न तलब...’
 
विसं २०६४ को दसैँ ताका लोकगायक विष्णु खत्रीले ल्याएको गीत हो, यो । जुन गीत उबेला खुबै चर्चित बन्यो । धेरैले रुचाए पनि । खत्री त्यत्तिमा मात्र रोकिनुभएन । त्यसयता सालिन्दा दसैँको छेकोमा उस्तै विषय र भावभूमिमा उहाँका गीत आउन थाले । कतिले त ‘विष्णु खत्रीको गीत आएपछि बल्ल दसैँ आउँछ’ सम्म भन्न भ्याए । 
 
खत्रीको सोह्रौँ दसैँगीत ‘दसैँ, तिहार गाउँमा’ आज सार्वजनिक भएको छ । उहिलेको दसैँमा साहुले तलब नदिएपछि घर आउन नपाएका परदेशी अहिलेको दसैँ, तिहार भने गाउँमै मनाउने कुरा गर्दैछन् । सोह्र वर्षको अन्तरालमा पनि खत्रीको गीतको अन्य करिब उस्तै छ । खाली ऊबेला तलब नपाएर दसैँमा घरमा आउन नपाएको परदेशी अहिले घर फिर्दैछ, स्वजनसँग दसैँ मनाउन । 
 
‘हो पियारी आउँदैछु म गाउँमा 
दसैँ तिहार गाउँमा झैँ रमाइलो, हुन्न कुनै ठाउँमा...’
 
नेपालीजनले भोगिरहेको परदेश आउजाउको अन्तहीन श्रृङ्खला खत्रीका गीतमा पनि अभिव्यक्त हुने क्रम जारी नै छ । बरु परदेशिने प्रवृत्ति अरु बढ्दो छ । खत्रीले परदेशिएका नेपाली र तिनका आश्रित परिवारको कथामा दसैँगीत सिर्जना गर्दै आउनुभएको छ । खत्रीका गीतले चाडबाड आएको छनक पनि दिन्छन् । 
 
उहाँको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गीत ‘दसैँ, तिहार गाउँमा’ त्यसकै सिलसिला हो । मार्मिक सिर्जना र ग्रामिण परिवेशको झझल्को खत्रीका गीतका विशेषता हुन् । गीतको म्युजिक भिडियो छायाँकनस्थलदेखि कलाकार छनोटसम्ममा त्यसको छनक पाइन्छ । गम्भीर मुद्दामा सरल र बोधगम्य प्रस्तुति दिन खत्री पारङ्गत हुनुहुन्छ । 
 
“हरेक सिर्जनामा नेपाली जनजीवन र सामाजिक यथार्थको चित्रण गर्ने इमान्दार प्रयास मबाट हुन्छ”, खत्रीले भन्नुभयो, “दसैँगीतले मलाई भिन्नै चिनारी दिएको छ, कतिपय स्रोताले त विष्णु खत्रीको गीत आएपछि बल्ल दसैँ आउँछ भनेर रमाइलो ढङ्गले प्रेरित पनि गर्नुहुन्छ ।” दुई दशकदेखि लोकसङ्गीतमा सक्रिय उहाँका दसैँ, तिहार, तीजजस्ता पर्वका मौकामा मौलिक गीत सार्वजनिक हुँदै आएका छन् । अघिपछि पनि उहाँ समाजका विविध मुद्दालाई गीतमा उठान गरिरहनुहुन्छ । 
 
गत वर्षको दसैँमा खत्रीले ‘उडी जाने जहाज’ल्याउनुभएको थियो । त्यसअघि उहाँका ‘दसैँ, तिहार सँगै मनाउँला’, ‘रिनै रिनको’, ‘दसैँमा आउ प्यारा’, ‘जहाजको टिकट’, ‘कति रुनी हो’लगायत गीत सार्वजनिक भएका थिए । पहिलो दसैँगीत ‘सुनको जलप’मा खत्रीलाई गायिका बिमाकुमारी दुराले साथ दिनुभएको थियो । अहिलेको गीतमा गायक खत्री र गायिका कमला पोखरेलको स्वर छ । 
 
प्रायः सबै गीतमा शब्द र सङ्गीत पनि गायक खत्रीकै रहेको छ । “दसैँलक्षित मेरो पहिलो गीत सुनको जलपले खुबै चर्चा बटुल्यो, धेरैले रुचाउनुभयो”, खत्रीले भन्नुभयो, “त्यसयताका प्रायः सबै गीत चर्चामा रहे, आजै युट्युबमा सार्वजनिक भएको गीतलाई लिएर पनि स्रोतारदर्शकले राम्रो प्रतिक्रिया दिनुभएको छ, उत्साहित नै छु ।”
 
सोह्र वर्षदेखि लगातार दसैँलक्षित गीत सार्वजनिक गर्नुभएका खत्री दसैँगीतका पर्यायका रुपमा चिनिन थाल्नुभएको छ । परदेसिएका नेपालीको भोगाइ र उनीहरुको मनोदशा उहाँका सिर्जनामा अभिव्यक्त हुने गरेको छ । खत्रीले तीन वर्षअघि ल्याएको दसैँगीत ‘रिनै रिनको’मा पनि त्यसको सजीव प्रस्तुति पाइन्छ ।  
 
‘आकाशबाट बाकसमा नआए
ढोका खोल भन्नेछु म आए...’ पुरुष
‘घरै धराप छ पहिरो खसेर
बाली खायो सलह पसेर...’ महिला
 
गीतमा बेठेगान परदेशी जिन्दगीको कुरा छ । प्रियजन पर्खेर बसेका परिवारको दुःख र पीडा मुखरित भएको छ । घरमा दसैँ कसरी मान्ने चिन्ता छ । परदेशीले खर्च पठाउनसक्ने स्थिति छैन । परदेशी हुनुको विवशता गीतमा छचल्किएको छ । 
 
‘के दसैँ मान्छ्यौ र रिनै रिनको’
मेरो केही घर छैन आउने दिनको...’ पुरुष
के दसैँ मानौँ र रिनै रिनको
शून्य छ गामवेशी तिमी बिनाको...’ महिला
 
खत्रीका दसैँ गीतबाहेक ‘भरिया दाइ’, ‘कि लास चाहियो कि लास चाहियो’, ‘जम्मु काश्मिरमा’लगायत गीत पनि चर्चित छन् । बागलुङको गलकोट नगरपालिका–७ मल्ममा जन्मनुभएका उहाँ सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालको उपाध्यक्षसमेत हुनुहुन्छ ।