Trending :
 

कोरोना भाइरसविरुद्धको खोप विकासमा संलग्न दुई वैज्ञानिकलाई नोबेल चिकित्सा पुरस्कार प्रदान

आश्विन १५,२०८०

-आस्था न्युज

असोज १५, २०८० काठमाडौं ।
यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार कोरोना भाइरसविरुद्धको खोप विकासमा संलग्न वैज्ञानिकलाई प्रदान गरिएको छ ।
 
कोरोना भाइरसविरुद्धको खोप बनाउन प्रविधिको विकास गरेबापत अमेरिकी वैज्ञानिकद्वय डा. क्याटलिन कारिको र डा. ड्रु वाइसमानलाई संयुक्त रूपमा यस वर्षको नोबेल चिकित्सा पुरस्कार प्रदान गरिएको हो ।
 
सन् २०१९ मा कोरोना सुरु भए पनि यी वैज्ञानिक एमआरएनए खोप विकासका लागि त्यसअघिदेखि नै अनुसन्धानमा खटिएका थिए । एमआरएन प्रविधि क्यान्सरसहित अन्य रोगविरुद्धको खोप विकासमा लागि समेत भइरहेका अनुसन्धानमा प्रयोग भएको छ ।
 
कोरोनाविरुद्धको खोपले लाखौँ मानिसको ज्यान जोगाउन सफल भएको समेत नोबेल कमिटीले जनाएको छ । आधुनिक समयमा मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो संकटका दौरान पुरस्कार विजेताले अभूतपूर्व रूपमा खोप विकासमा योगदान दिएका छन्, नोबेल पुरस्कार कमिटीले भनेको छ । कोरोना महामारीका बेला मोडर्ना, फाइजररबायोएनटेकलगायतका कम्पनीले एमआरएनए प्रविधिमा आधारित खोप बनाएका थिए ।
 
सोमबार एक कार्यक्रमका बीच स्विडिस एकेडेमीले चिकित्सातर्फको नोबेल पुरस्कार विजेता घोषणा गरेको हो । विजेतालाई स्वर्ण पदक र संयुक्त रुपमा १ करोड १० लाख स्विडिस क्रोनर (१० लाख अमेरिकी डलर) दिइनेछ ।
 
गत वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार मानव प्रजातिको विकासक्रमसम्बन्धी अनुसन्धानमा संलग्न स्विडेनका वैज्ञानिक स्वान्टे पाबोलाई दिइएको थियो । चिकित्सा विज्ञानतर्फ पहिलो नोबेल पुरस्कार सन् १९०१ मा इमिल भोन बेहरिङले पाएका थिए ।
 
‘सिरम थेरापी’ विकास गरेका कारण उनलाई चिकित्सातर्फको नोबेल पुरस्कार दिइएको थियो । त्यस्तै चिकित्सा विज्ञानका लागि कम उमेरमा नोबेल पुरस्कार पाउने व्यक्ति फ्रेडरिक ब्यान्टिङ हुन् ।
 
उनले सन् १९२३ मा जोन जेम्स रिकार्ड म्याकलिओडसँगै चिकित्सा विज्ञानका लागि नोबेल पुरस्कार पाएका थिए । नोबेल पुरस्कार पाउँदा उनी ३२ वर्षका थिए । उनले इन्सुलिनको आविष्कार गरेका थिए ।
 
यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार अक्टोबर ३, रसायनशास्त्रतर्फको अक्टोबर ४, साहित्यतर्फ अक्टोबर ५, शान्तिका लागि अक्टोबर ६ र अर्थशास्त्रका लागि अक्टोबर ९ मा विजेता घोषणा गरिनेछ ।