Trending :
 

पर्यटकीय सहर पोखराको सुन्दरता जोगाउन चुनौती

आश्विन १५,२०८०

-आस्था न्युज

असोज १५, २०८० काठमाडौं ।
पोखरा पर्यटकीय सहर । पोखरा भन्ने बित्तिकै सबैको मन मस्तिष्कमा प्राकृतिक सुन्दरताले भरिपूर्ण हिमाल तालको सुन्दर दृश्य आउँछ । यद्यपि बढ्दो सहरीकरण अव्यवस्थित संरचना र फोहोरको उचित व्यवस्थापनको अभावमा पोखराको सुन्दरता जोगाउन चुनौती बन्दै गएको छ ।  
 
सेप्टेम्बर २७  विश्व पर्यटन दिवसका अवसरमा पोखरामा विभिन्न कार्यक्रम भए । नारा थियो ‘पर्यटनमा हरित लगानी’ अर्थात् ९टुरिज्म एन्ड ग्रिन इन्भेष्टमेन्ट० । पर्यटन सम्बद्ध सङ्घसंस्थाले केही औपचारिक कार्यक्रम गरे तर पोखराको सुन्दरतामा बढ्दै गएको प्रदूषण र योसँग जोडिएका वातावरणका विषयमा भने ठोस कार्यक्रम हुन सकेनन् । 
 
फेवाताल किनारमा कार्यक्रम भइरहँदा फेवाताललाई कसरी प्रदूषण मुक्त बनाउने, आउने पर्यटकले  स्वच्छ हावामा डुल्नका लागि खुला ठाउँहरुको व्यवस्थापन कसरी गर्ने भन्ने सवाल पनि उठ्न जरुरी थियो । सधैँ जसो नेता र पर्यटन व्यवसायीका बनावटी सवालहरुमा कार्यक्रम सकियो । 
 
वातावरणविद्हरुले  पोखराले सुन्दर, सफा र स्वच्छ सहर भनेर बनाएको पहिचान नै बिस्तारै गुम्दै गएको प्रति चिन्ता व्यक्त गर्न थालेका छन् । पोखराको सुन्दरता बेचेर बाँचेकाहरुले भने यसलाई कसरी जोगाउने भन्नेतर्फ ध्यान दिन नसकेको वातावरण एवम जलाधारविज्ञ राजन सुवेदी बताउनुहुन्छ । 
 
उहाँले भन्नुभयो, “पोखरा आफैँमा सुन्दर सहर हो, तर बढ्दो प्रदूषणबाट नजोगाउने हो भने पोखराले आफ्नो विशेषता गुमाउने छ, कुनै पनि कुरालाई थप समस्या हुनुअगाडि नै ध्यान दिन सकियो भने थप समस्या झेल्न पर्दैन ।” उहाँले पोखरामा अहिले दीर्घकालीन फोहोर व्यवस्थापन, पुराना गाडीबाट निस्कने कालो मुस्लो धुवाँ, प्लास्टिकजन्य फोहोर, अव्यवस्थित संरचना चुनौती बन्दै गएको बताउनुभयो ।  
 
“पोखरा एकदम पानी पर्ने ठाउँ हो, पानी पर्ने चक्रमा तलमाथि पर्दा त्यसको असर पोखरामा देखिहाल्छ, वातावरणका हिसाबले उपयुक्त मानिने पोखरामा पानी पर्ने विशेषता भनेको यहाँ थुप्रै तालतलैया छन्, यो सहरका लागि निकै राम्रो हो, तर प्रकृतिले दिएका कति कुराको व्यवस्थापन गर्न नजान्दा, व्यवस्थित विकास मोडल अवलम्बन गर्न नसक्दा समस्या देखिएका छन्”, उहाँले भन्नुभयो । 
 
उहाँले समस्याको पहिचान गरेर समयमै व्यवस्थापन गर्न स्थानीय सरकारले नीतिगत रुपमै पहल थाल्न आवश्यक रहेको बताउनुभयो । “फेवाताल पुरियो, अतिक्रमणमा भयो भन्नेमा मात्रै चासो बढ्यो, तर फेवाताल प्रदूषित भएकोतर्फ ध्यान दिइएको छैन, आज ताल हेरेर रमाउने हामी कुनै दिन ताल हेरेर नाक थुन्नुपर्ने अवस्था नआउला भन्न सकिँदैन”, सुवेदीले भन्नुभयो ।