Trending :
 

मौसमः केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा जारी

आश्विन १६,२०८०

-आस्था न्युज

असोज १६, २०८० काठमाडौं ।
देशका केही भू-भागमा बिहानैबाट वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
 
आज दिउँसो देशभर सामान्य बदली रहनेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 
 
वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
 
आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका  एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 
 
गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
 
आज पनि सोमबार जस्तै देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको मौसमविद् बिनु महर्जनले बताएकी छन् । “आज पनि देशका धेरै स्थानमा हिजोजस्तै वर्षा हुनेछ,” उनले बाह्रखरीसँग भनिन्, “भोलिबाट बिस्तारै पानी पर्नेक्रम कम हुनेछ ।” 
 
मनसुन सक्रिय रहेकाले अझै केही दिन नेपालबाट यो वर्षको मनसुन नबाहिरिने उनको भनाइ छ । उनका अनुसार कम्तीमा तीन दिन मनसुन बाहिरिने सम्भावना छैन । 
 
मगंलबारसम्म मनसुन भारतको जोतपुरसम्मबाट बाहिरिएको छ । क्रमशः यो क्रम नेपालतर्फ सर्ने मौसमविद् महर्जन बताउँछिन् । 
 
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा छ । साथै नेपालमा अहिले भारतको दक्षिण–पश्चिम बिहार र उत्तर छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।