Trending :
 

ढोरपाटन सिकार आरक्षमा ८ नाउर, ४ झारल र ८ बँदेलको सिकार गर्न अनुमति

आश्विन १६,२०८०

-रासस

असोज १६, २०८० काठमाडौं ।
नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकारयाम सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पहिलो सिकारयाम असोज-मङ्सिरका लागि आठ नाउर र चार झारलको सिकार गर्न अनुमति दिएको छ । यस्तै सिकार आरक्षले आठ बँदेलका लागि समेत सिकार खेल्न अनुमति प्रदान गरेको छ ।
 
ढोरपाटन सिकार आरक्ष कार्यालयका सूचना अधिकारी तथा संरक्षण अधिकृत अविनाश थापामगरले यस वर्षको पहिलो सिकारयाम सुरु भएको बताउनुभयो । उहाँका अनुसार अनुमति पाएका सिकारीले नाउर, झारल र बँदेल सिकार गर्न यही असोज १७ गतेदेखि मङ्सिरको पहिलो सातासम्म आरक्ष खुला गरिएको छ ।
 
उहाँका अनुसार सिकारका लागि नेपाली सहयोगीका साथ विदेशी व्यावसायिक सिकारी ढोरपाटन सिकार आरक्षमा आउने तयारीमा जुटेका छन् । “यस सिकारयाममा आठ नाउर, चार झारल र आठ बँदेलको सिकार खेल्न विभागले अनुमति दिइसकेको छ, अहिले विदेशी सिकारी आरक्षतर्फ आउने तयारीमा छन्”, उहाँले भन्नुभयो, “यस वर्ष आरक्षमा सूचीकृत आठ कम्पनीमार्फत जर्मन, अमेरिका, रसिया र बेलारुसका सिकारीले सिकार खेल्न अनुमति पाइसकेका छन् ।”
 
यस वर्ष प्रतिस्पर्धामा अमेरिकाका मात्रै पाँच सिकारी आउने भएका हुन् । उनीहरूले बन्दोबस्तीका सामग्रीमार्फत असोज १७ गतेपछि ढोरपाटन सिकार आरक्षमा वैधानिकरूपमा आफूले प्राप्त गरेको कोटाका आधारमा सिकार खेल्न सक्नेछन् । सिकार खेल्न नेपाली सहयोगीसहित आरक्षका कर्मचारीसमेत विदेशी सिकारीको साथमा खटिने गर्दछन् ।
 
सिकारीका लागि आवश्यक बन्दोबस्ती र मार्गनिर्देशनका लागि ढोरपाटन सिकार आरक्ष कार्यालय आफ्ना कर्मचारी र सिकारीका भरिया सम्बन्धित ‘ब्लक’मा पठाउनका लागि तयारी अवस्थामा राखिएको संरक्षण अधिकृत थापामगरले बताउनुभयो । विभागले हरेक वर्ष नाउर र झारलका लागि कोटा निर्धारण गरेको हुन्छ ।
 
पहिलो याममा अमेरिकाका पाँच सिकारी, जर्मनी, रसिया र बुलरियाका एक–एक सिकारी सिकार खेल्नका लागि अनुमति पाएका हुन् । विभागले बोलपत्रमार्फत विश्वका धनाढ्य सिकारीबीच प्रतिस्पर्धा गराएर सिकार खेल्न अनुमति दिने गरेको छ । बोलपत्रमार्फत एउटै नाउर सिकार खेल्न सिकारीले रु १० देखि २० लाखसम्म तिर्ने गरेको पाइन्छ ।