Trending :
 

१९औँ एसियाली खेलकुदः नेपाल भारतसँग २३ रनले पराजित

आश्विन १६,२०८०

-आस्था न्युज

असोज १६, २०८० काठमाडौं ।
चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ ।
 
जीतका लागि दुई सय तीन रनको लक्ष्य पाएको नेपालले मात्र ९ विकेटको क्षतिमा १ सय ७९ रन मात्र बनाउन सक्यो । 
 
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३२ रन बनाए भने सन्दीप जोरा र कुशल मल्लले २९-२९ रनको योगदान दिए । ओपनर कुशल भुर्तेलले २८ रन बनाए ।
 
यसअघि टस जिती पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय दुई रन बनाएको थियो । भारतका लागि ओपनर ब्याट्सम्यान यशस्वी जैसवालले एक सय रन बनाए । जैसवाल र रुतुराज गाइकवाडले ओपनिङ विकेटका लागि एक सय तीन रनको साझेदारी गरेका थिए । गाइकवाड २५ रन बनाउँदै आउट भए ।
 
भारतका लागि शिवम दुबेले अविजित २५ रन र रिन्कु सिंहले अविजित ३७ रन बनाए । नेपाली बलर दीपेन्द्र सिंह ऐरीले दुई तथा सन्दीप लामिछाने र सोमपाल कामीले एक—एक विकेट लिए । नेपालको फिल्डिङ खासै प्रभावकारी देखिएन । नेपाली फिल्डरले केही गतिला अवसरलाई खेर फालेका थिए ।
 
भारतको पहिलो विकेट नेपाली बलर दीपेन्द्रसिंह ऐरीले लिएका थिए । उनले भारतका ओपनर ब्याट्सम्यान रुतुराज गाइकवाडको विकेट लिएका हुन् । उनले रुतुराजलाई २५ रनको व्यक्तिगत स्कोरमा कप्तान रोहित पौडेलद्वारा क्याच गराएका थिए । रुतुराज भारतीय टोलीका कप्तान पनि हुन् । पहिलो विकेट गुमाउँदा भारतले ९।१ ओभरमा एक सय तीन रन बनाएको थियो । 
 
यसैगरी भारतीय टोलीको दोस्रो विकेट सोमपाल कामीले लिएका हुन् । उनले भारतीय ब्याट्सम्यान तिलक बर्मालाई दुई रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काए । सोमपालले तिलकलाई बोल्ड गरेका हुन् । दोस्रो विकेट गुमाउँदा भारतले ११.४ ओभरमा एक सय ११ रन बनाएको थियो । 
 
यसैगरी भारतको तेस्रो विकेटका रुपमा जितेश शर्मा आउट भएका थिए । उनको विकेट नेपाली बलर सन्दिप लामिछानेले लिएका हुन् । सन्दीपले उनलाई पाँच रनको व्यक्तिगत स्कोरमा आफ्नो बलिङमा आफैले क्याच गरे । भारतले तेस्रो विकेट गुमाउँदा १२.५ ओभरमा एक सय १९ रन बनाएको थियो ।
 
यसैगरी दीपेन्द्रसिंह ऐरीले भारतको चौथो विकेट लिएका थिए । उनले भारतका ओपनर ब्याट्सम्यान यशस्वी जैसवाललाई पेभेलियन फर्काएका थिए । जैसवाल शतक बनाएलगत्तै पेभेलियन फर्किएका थिए । ऐरीले उनलाई अविनाष बोहराद्वारा क्याच गराएका थिए । चौथो विकेट गुमाउँदा भारतले १६।२ ओभरमा एक सय ५० रन बनाएको थियो । पेभेलियन फर्किनुअघि जैसवालले ४९ बलमा सात छक्का र आठ चौकाको मद्दतले शतक पुरा गरेका थिए ।