Trending :
 

गोरखामा आमाको नामबाट नागरिकता प्रदान गर्न सुरु

आश्विन १७,२०८०

-आस्था न्युज

असोज १७, २०८० काठमाडौं ।
जिल्ला प्रशासन कार्यालय गोरखाले आमाको नामबाट वंशजका आधारमा नागरिकता प्रदान गर्न सुरु गरेको छ । 
 
सो कार्यालयले मङ्गलबार भीमसेन थापा गाउँपालिका-१, मसेलका १९ वर्षीय मन्जित बानियाँलाई आमाका नामबाट वंशजका आधारमा नागरिकता प्रदान गरी जिल्लामा पहिलोपटक आमाको नामबाट नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिनुभयो ।
 
उमेर पुगेर पनि नागरिकता बनाउन नपाएका बानियाँलाई आमाको नामबाट वंशजका आधारमा प्रदान गर्ने गरी गृह मन्त्रालयले गरेको परिपत्रअनुसार नागरिकता प्रदान गरिएको हो ।  नेपाल सरकारबाट नेपाल नागरिकता ९तेस्रो संशोधन० नियमावली, २०८० जारी भएपछि कार्यालयबाट आमाको नामबाट पनि नागरिकता वितरण गर्न सुरु गरिएको प्रजिअ भुसालको भनाइ छ ।
 
नयाँ नियमावलीको व्यवस्थाअनुसार १६ वर्ष उमेर पुगेका र बाबुको पहिचान नभएका व्यक्तिले आमाको नामबाट पनि नेपाली नागरिकताको प्रमाणपत्र पाउने व्यवस्था रहेको उहाँले बताउनुभयो। आमाको नामबाट नागरिकता पाउन निवेदक र निवदेकका  आमाले बुबाको पहिचान नभएको स्वघोषणासहित जन्मदर्ता, आमाको नेपाली नागरिकता, आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र, वडा कार्यालयकोे सिफारीससहित प्रशासनमा निवेदन दिनुपर्नेछ ।  
 
त्यस्तै वडाध्यक्ष वा वडाध्यक्षले तोकेका जनप्रतिनिधि र निवेदकसँग सम्बन्धित दुईजनाले प्रशासनमा आएर सनाखत गरेपछि नागरिकता प्रदान गरिने उहाँले बताउनुभयो ।  यसअघि बाबुको नागरिकता अनिवार्य रहेकामा नियमावली संशोधन भएपछि बाबुको पहिचान नभएका व्यक्तिलाई पनि आमाका नामबाट नेपाली नागरिकता वितरण गर्न सुरु गरिएको हो ।