खराब मौसमका कारण रामेछापबाट लुक्ला जाने ३० उडान अवरुद्ध, यात्रुहरु अलपत्र
-आस्था न्युज
असोज १७, २०८० काठमाडौं ।
मौसममा खराब भएपछि बुधबार रामेछापबाट लुक्लाका लागि तय भएका सम्पूर्ण उडान अवरुद्ध भएका छन् । मूख्य पर्यटकीय सिजनमा लुक्लातर्फ जाने हवाई यात्रुहरु रामेछाप विमानस्थल आसपास बिहानैदेखि अलपत्र छन् ।
रामेछाप र लुक्ला दुवैतर्फ मौसम नखुल्दा बुधबार बिहानबाट अपरान्हसम्म कुनै उडान हुन सकेका छैनन् । लुक्लातर्फको मौसम खराब भएकाले बुधबार हेलिकप्टरको उडान समेत हुनसकेको छैन । लुक्लाको मौसम बिग्रिएका बेला पर्यटकहरु हेलिकप्टरमार्फत लुक्ला वा नजिकैको सुर्केसम्म जाने गरेका थिए ।
रामेछाप नागरिक उडड्यन कार्यालयका प्रमुख अशोक थापाका अनुसार निजी हवाई कम्पनीका जहाज बिहानैदेखि रामेछाप विमानस्थलमा पार्किङमै छन् । तारा, सिता र समिट एयरले बुधबारका लागि लुक्लामा ३० उडान गर्ने तालिका बनाएका थिए । त्यसका लागि तारा, सीता र समिट एयरले २र२ वटा जहाज मंगलबार बेलुकादेखि रामेछाप विमानस्थलमा तयारी अवस्थामा राखेका थिए ।
रामेछापबाट लुक्ला उडान नभएपछि लुक्लाबाट काठमाडौंतर्फको उडान पनि हुनसकेको छैन ।