एसियन कप छनोट खेल्ने फुटसल टोलीको विदाई
-आस्था न्युज
असोज १७, २०८० काठमाडौं ।
फुटसल एसियन कप छनोट खेल्न मंगोलिया जाने नेपाली टोलीलाई विदाई गरिएको छ।
डेढ वर्षयता घरेलु फुटसल लिगसमेत नखेलेका नेपाली खेलाडी यही असोज २० देखि २३ गतेसम्म मंगोलियामा हुने एसियन कप छनोट खेल्न त्यसतर्फ जान लागेका हुन् ।
नेपाली फुटसल टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतले खेलाडि पलायनका कारण समस्या भएपनि अहिलेको खेलमा केही सुधार हुने अपेक्षा गरिएको जानकारी दिए ।
‘लिग नभएको कारणले त्यस्तो राम्रो हुन्छ भन्ने छैन् तर पनि राम्रो तयारी गरिएकाले यसपाली हामी दोस्रो राउण्डमा पुग्छौ भन्ने अपेक्षा छ ।’ उनले भने
त्यस्तै कप्तान मणी कुमार लामाले पहिलो पटक कप्तानी गर्न लागेकाले केही नर्भस भएपनि राम्रो गर्नेमा आशाबादी रहेको बताएका छन् ।
उनले भने ‘ हामी फिजिकल रुपमा कमजोर छैनौं । टेक्नीकल केही समस्या भएपनि, अनुभवी खेलाडि नभएपनि युवा खेलाडि भएकाले हामीले राम्रो प्रर्दशन गछौ भन्ने आशा छ । ’
छनोट प्रतियोगितामा विभिन्न ३१ राष्ट्र सहभागी छन् । यसलाई विभिन्न आठ समूहमा विभाजन गरिएको छ । नेपाल भने समूह ‘डी’ मा रहेको छ । नेपालको समूहमा भियतनाम, दक्षिण कोरिया र मङ्गोलिया रहेका छन् । प्रत्येक समूहका शीर्ष स्थान हासिल गर्ने टोली एएफसी फुटसल एसियन कपका लागि छनोट हुनेछन् । त्यसैगरी प्रतियोगितामा उत्कृष्ट सात उपविजेता टोलीले पनि प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।
सन् २०१७ मा अन्तर्राष्ट्रिय फुटसलमा डेब्यु गरेको नेपालले त्यसयता एसिया कपका दुई वटा छनोटबाहेक अन्य अन्तर्राष्ट्रिय खेल खेलेको छैन ।