सुदूरपश्चिममा रहेको स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक स्वीकृतिपछि खुसी
-रासस
असोज १८, २०८० काठमाडौं ।
सरकारले सुदूरपश्चिम प्रदेशको कैलालीमा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि विधेयक स्वीकृत गरेपछि सो क्षेत्रका नागरिक खुसी भएका छन् ।
त्यहाँ स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गरेर गत जेठमा आन्दोलनमा उत्रिएका नागरिकदेखि यसका लागि विगत लामो समयलेखि लागिपरेका नीति निर्माताहरु पनि सरकारको यो निर्णयबाट खुसी भएका हुन् ।
विगत लामो समयदेखिको मागको सम्बोधन गर्दै सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० यसै हप्ताको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको हो ।
मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले सो विश्वविद्यालय विधेयक संसद्मा दर्ता गर्नका लागि स्वीकृति प्रदान गरेको हो । नेपाल सरकारले स्वीकृति प्रदान गरेपछि उक्त विधेयक अब संसद्मा पेस हुने भएको छ । संसद्बाट कानुन बनेपछि विश्वविद्यालय सञ्चालनमा आउनेछ ।
गएको जेठ १५ गते प्रस्तुत नेपाल सरकारको आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा गेटामा प्रतिष्ठान स्थापना गर्दै एक सय श्ययाको अस्पताल सञ्चालन गर्ने उल्लेख भएपछि सुदूरपश्चिममा यस निर्णयका विरुद्धमा आन्दोलन सुरु भएको थियो । यहाँका नागरिक आन्दोलित भएपछि सुदूरपश्चिममा आमहड्ताल गरिनुका साथै विश्वविद्यालय सञ्चालनको माग गर्दै प्रदेशसभा घेराउसमेत गरिएको थियो ।
नेपाल सरकारले यस वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको सैद्धान्तिक सहमतिको व्यवस्था गरेको भए पनि बजेटमा गेटा मेडिकल कलेज नै भनेर आएपछि यसको विरोधमा सो क्षेत्रमा आन्दोलन भएको थियो ।
कैयौँ दिनसम्म आन्दोलन जारी रहेपछि डोटीबाट निर्वाचित सांसद तथा पूर्वमन्त्री प्रेमबहादुर आलेसहित सो क्षेत्रका सांसद एवं जनप्रतिनिधिहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कैलालीको गेटामा सहिद दशरथ चन्द मेडिकल विश्वविद्यालय सञ्चालन गर्न मागसहित ज्ञापनपत्र बुझाएको थियो । प्रधानमन्त्रीले सो विश्वविद्यालय स्थापनाको सुनिश्चितता गरेपछि मात्र आन्दोलन स्थगित भएको थियो ।
कैलालीको गेटामा मेडिकल विश्वविद्यालय सञ्चालनमा लाग्नुभएका पूर्वमन्त्री आलेले अब विधेयक संसद्मा दर्ता गर्ने कानुनी बाटो खुला भएको बताउनुभयो । उहाँले भन्नुभयो, “विश्वविद्यालय सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री, अर्थमन्त्रीज्यूसँग हामीले पटकपटक छलफल गरेका थियौँ, ऐन ल्याउँदा विश्वविद्यालय बनाउने गरी ल्याउन दबाब पनि दिएका थियौँ, सहमतिबमोजिम नै सरकारले विधेयक दर्ता गर्ने स्वीकृति दिएको छ, अब जतिसक्दो चाँडै संसद्मा विधेयक दर्ता होस् ।”
यसअघि सरकारले गत माघमा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो । गेटामा रु पाँच अर्ब लागतमा अस्पताल, कलेज, प्रशासनिक र होस्टेलका लागि २७ वटा भवन निर्माण सम्पन्न भइसकेको भए पनि अहिलेसम्म सञ्चालन नहुँदा सबै भवन अलपत्र अवस्थामा रहेका डोटीका नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद यज्ञराज पाठकले बताउनुभयो ।