Trending :
 

कालोबजारी नियन्त्रण गरी जनतालाई राहत दिन सांसदको आग्रह

आश्विन १८,२०८०

-आस्था न्युज

असोज १८ ,२०८० काठमाडौं ।
राष्ट्रियसभाका सांसद कुमार दशौंदिले चाडपर्वको बेलामा जनता कालोबजारी र महंगीको मारमा परेको तर सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् । 
 
उनले कालोबजारी नियन्त्रण गरी जनताका समस्या सहजीकरण गर्न सरकारलाई आग्रह गरे । 
 
बिहीबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सरकार जनतालाई सेवा गर्न भन्दा आफैं कमिसन खोज्नमा व्यस्त भएको भन्दै आक्रोस पोखे । उनले महंगी र गरिबीको मारमा परेका जनतालाई सरकारले राहत दिनुपर्ने भन्दै सरकार जनउत्तरदायि बन्नुपर्नेमा जोड दिए । 
 
उनले भने, ‘जनतालाई मारेर जनतासँग लुट्नका लागि यो सरकार बनेको हो कि जनतालाई सेवा, सुविधा, राहत उपलब्ध गराउन बनेको हो ? यसको जवाफ सरकारले दिनुपर्छ ।’
 
उनले महंगिको मारले थिचिएका जनतालाई तत्तकाल राहत दिन समेत सरकारसँग माग गरे । 
 
‘हिजो जस्तै सामन्ती सोच र संस्कारबाट सरकार चलाइरहेका छौं कि लोकतान्त्रिक व्यवस्थाभित्र रहेर जनताबाट जनमत लिएर जनतालाई राहत दिने गरी सरकार चलाइरहेका छौ ? यसको जवाफ सरकारले दिनुपर्छ’ उनले भने ।
 
ठूला चाडवाड नजिकै आएको बेलामा उपभोग्य वस्तुको अभाव गराउने कालाबजारीहरु सक्रिय रहेको भन्दै उनले अनुगमनको नाममा पैसा कताबाट आउँछ भन्नेतिर मात्र ध्यान दिइने गरेको आरोप लगाए । 
 
उनले बझाङ भूकम्प पीडितलाई राहत दिन सरकारले तदारुकता नदेखाएको भन्दै त्यसमा सक्रिय रुपमा तीनै तहका सरकार लाग्नुपर्नेमा जोड दिए ।