सांसदद्वारा शान्तिसुरक्षा हुनुपर्ने माग
-आस्था न्युज
असोज १८, २०८० काठमाडौं ।
राष्ट्रियसभाका सांसदहरुले मुलुकमा हत्या हिंसा बढ्दै गएकाले त्यसको अन्त्य गर्दै शान्तिसुरक्षा हुनुपर्ने माग गरेका छन् । सभाको आजको बैठकको विशेष समयमा सांसद तुलसाकुमारी दाहालले देशका विभिन्न स्थानमा धार्मिक तथा जातीय सद्भाव खलबलिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद गोमादेवी तिमिल्सिनाले भूकम्पपीडितलाई उचित क्षतिपूर्ति दिनुपर्नेमा जोड दिनुभयो ।
सांसद युवराज शर्माले सरकारले कुनै पनि विधेयक ल्याउनुभन्दा अगाडि त्यसका बारेमा राम्रोसँग अध्ययन, अनुसन्धान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “भर्खरै व्यापक हड्तालपछि शिक्षक महासङ्घ र सरकारबीच सम्झौता भएको छ । विश्वासको सङ्कट गहिरिँदै गएका बेला ती सम्झौता कार्यान्वयन गर्ने सरकारको नैतिक जिम्मेवारी हो भने अर्कोतिर संविधानको पालना गर्नु बाध्यता छ । यस्तो धर्म सङ्कटमा प्रायःसरकार किन फस्ने गर्दछ रु” सरकारले सबैको विचार सुनेर मात्रै धारणा बनाउनुपर्ने उहाँको भनाइ थियो ।
सांसद शर्माले विकासका काम समयमै पूरा नहुनु ठूलो समस्या भएको बताउँदै शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको महँगीका कारण जनतालाई समस्या भएको बताउनुभयो । उहाँले नेपालगञ्जमा भएको हिंसात्मक दङ्गा फैलिएको भन्दै त्यसबारेमा छानविन गर्नुपर्ने माग गर्नुभयो ।
सांसद राजेन्द्रलक्ष्मी गैरेले कर्मचारी निजामती ऐन नबनेकाले समस्या भएको बताउँदै जतिसक्दो चाँडो निजामती कर्मचारी ऐन ल्याउनुपर्ने माग गर्नुभयो । “आज धर्मका नाममा, जातिको नाममा ढुङ्गा हानाहान किन भइरहेको छ रु सरकारलाई कमजोर गराउनका निम्ति, देशमा अस्थिरता मच्चाउनका निम्ति यस्तो भइरहेको त छैन रु”, उहाँले प्रश्न गर्नुभयो ।
सांसद डा विमला राई पौडेलले भन्नुभयो, “आम माफी दिने सवालमा सरकारले गम्भीरतापूर्वक सोच्नुपर्ने थियो ।” सांसद हरिराम चौधरीले सुदूपश्चिम प्रदेश वरिपरिका जिल्लामा भूकम्पका कारण घरविहीन भएका परिवारलाई व्यवस्थापन गर्नुपर्ने माग गर्नुभयो । कानुनी र नीतिगत भष्टाचारको अन्त्य गरिनुपर्ने उहाँको भनाइ थियो ।