Trending :
 

आर्थिक मन्दीको अवस्थामा बजारमा सकारात्मक सूचना प्रवाह गर्नुपर्नेमा जोड

आश्विन १८,२०८०

-आस्था न्युज

असोज १८, २०८० काठमाडौं । 
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालको अहिलेको अवस्थामा बजारमा सकारात्मक प्रकारको सूचना प्रवाह गर्न आवश्यक भएको बताएका छन् ।
 
नेपाल धितोपत्र बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघबीच राष्ट्रव्यापी लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गर्न आयोजित हस्ताक्षर समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।
 
नीतिगत स्थिरता नभएकाले व्यावसायिक कारोबार बढाउन नसकेको भन्दै यसको समाधानको लागि सकारात्मक हुनुपर्ने ढकालको भनाइ छ ।
 
उनले भने, ‘अहिले जुन मन्दीको अवस्था छ, यो अवस्थामा बजारमा सकारात्मक प्रकारको सूचना दिनु आवश्यक छ । व्यावसायिक कारोबार बढाउन सकिएको छैन । नीति कति बेला के आउँछ थाहा छैन । स्थिर नीति नभएको कारणले एउटा त्रास छ ।’
 
यस्तै, उनले अर्थतन्त्र बिग्रिनुमा कुनै व्यक्ति तथा संस्थाको मात्रै दोष नभएको भन्दै सेयर बजारमा काम गर्ने व्यक्ति तथा संस्थालाई दोष दिएर यसको समाधान नहुने बताए ।
 
उनले भने, ‘घर जग्गाका कारण अर्थतन्त्र डुब्यो भन्नु भ्रम हो । अर्थतन्त्र बिग्रिएको दोष कुनै व्यक्ति तथा संस्थालाई दिनु हुँदैन । सेयर बजारमा काम गर्ने व्यक्ति तथा संस्थालाई दोष दिएर केही हुँदैन । बिग्रिनुमा सरकार, व्यवसायी, नियामक निकायको भूमिका बराबर छ ।’
 
उनले शेयर बजारमा नकारात्मक प्रकारको भाष्य तयार गरिएको भन्दै यसको समाधान गर्न र मन्दीबाट माथि उठ्न सबैजना समग्र रुपमा लाग्नु पर्नेमा जोड दिए ।
 
यस्तै, उनले महासंघअन्तर्गत ७७ जिल्लाकै व्यवसायी मिलेर छरिएर रहेका साना साना पुँजीहरुलाई संकलन गरेर ठूला आयोजना सञ्चालन गर्ने योजनामा रहेको पनि बताए ।
 
उनले भने, ‘हाम्रा ७७ जिल्लाका व्यवसायीहरु सम्मिलित भएर संयुक्त लगानीमा बृहत् कम्पनी दर्ता गर्ने र त्यसले छरिएर रहेका साना साना पुँजीहरुलाई संकलन गरी ठूला आयोजना सञ्चालन गर्ने योजना अघि बढाउन खोजेका छौ ।’