भीभीआईपीको सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यविधि परिमार्जन हुने
-आस्था न्युज
असोज १९, २०८० काठमाडौं ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अति विशिष्ठ व्यक्ति (भीभीआईपी)को सुरक्षा व्यवस्था सम्बन्धी कार्यविधि परिमार्जन गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार प्रशासनले परिमार्जन गर्न लागेको कार्यविधि पारित गर्न मन्त्रिपरिषद्मा पुगेको छ ।
शुक्रबार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह-२०८० समापन समारोहमा बोल्दै उनले सो विषयमा जानकारी दिएका हुन् । कार्यविधिमा सवारी शब्दलाई भ्रमण भन्ने शब्दमा रुपान्तरण गरिएको उनले बताए ।
उनले अतिविशिष्ठ र विशिष्ठ व्यक्तिहरुको भ्रमण गराउँदा सकेसम्म सडक खालि नगर्ने र कमभन्दा कम आम नागरिकलाई असर पर्नेगरी भ्रमण गर्नेकुरा कार्यविधिमा व्यवस्थापन गरिएको छ ।
पहिलेको तुलनामा भीभीआईपीहरुको भ्रमण गराउँदा पहिलाको जस्तो तामझामलाई विस्तारै मिनिमाइज र सुधार गर्दै लगिएको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी बस्नेतले यातायातमा निजी क्षेत्रको मात्रै होडले गर्दा सरकारले सवारीसानधनमा नियन्त्रण गर्नसक्ने अवस्था नरहेको पनि बताए ।
उनले सार्वजनिक यातायातले रिजर्बमा मानिस बोक्ने परिपाटी बन्द गरी रुटमा सवारीसाधन सञ्चालन गर्नुपर्नेमा जोड दिए ।