Trending :
 

आपसी सद्भावलाई थप मजबुत बनाउन राष्ट्रपति पौडेलको अपिल

आश्विन २०,२०८०

-आस्था न्युज

असोज २०, २०८० काठमाडौं । 
राष्ट्रपति रामचन्द्र पौडेलले हरेक जात, जाति, धर्म, संस्कृति तथा समुदायको सह-अस्तित्व स्वीकार गर्दै आपसी सद्भावलाई थप मजबुत बनाउन सम्पूर्णलाई अपिल गरेका छन् । 
 
आज जितिया पर्व, २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले जितिया पर्व जस्ता मौलिक चाडपर्वको माध्यमबाट नेपाली समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गर्दै नेपालको विविधतालाई संरक्षण गरेको बताएका छन् । 
 
‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विविधतायुक्त विशेषताले भरिपूर्ण नेपालमा यस्ता मौलिक चाड पर्वहरूले बेग्लै पहिचान स्थापित गर्दै आएको छ । जितिया पर्व जस्ता मौलिक चाडपर्वको माध्यमबाट नेपाली समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गर्दै नेपालको विविधतालाई संरक्षण गरेको मैले महसुस गरेको छु ।’ सन्देशमा लेखिएको छ । 
 
नेपाली मौलिक सांस्कृतिक सम्पदाको सम्वर्द्धन गर्दै संस्कारयुक्त आदर्श सामाजिक वातावरण सृजना गर्न र सदाचार जीवनशैली अपनाउनका लागि यस्ता चाडपर्वहरूको संरक्षण गर्नु आवश्यक भएको पनि उनको भनाई छ ।