मनकामना मन्दिर आसपासका होटलमा बालमजुदरको प्रयोग नगर्न निर्देशन
-आस्था न्युज
असोज २१, २०८० काठमाडौं ।
मनकामना मन्दिर आसपासका क्षेत्रमा रहेका होटलमा बालमजदुरको प्रयोग भएको पाइएको छ । धार्मिक पर्यटकको अत्यधिक चाप रहने मनकामना क्षेत्रका केही होटलमा गरिएको अनुगमनका क्रममा सो कार्य भेटिइएको हो ।
केही होटलमा बालमजदुरको प्रयोग गरेको पाइएकाले सञ्चालकलाई होटलमा कामदारका रूपमा बालबालिका नराख्न सचेत गराइएको छ । त्यस्तै किराना पसल तथा होटलको अनुगमनका क्रममा व्यवसायीले म्याद गुज्रेको खाद्य सामग्री बिक्री वितरण गरेको समेत भेटिएको अनुगमन समितिका संयोजकसमेत रहनुभएकी शहीद लखन गाउँपालिकाका उपाध्यक्ष इन्दिरा तिवारीले जानकारी दिनुभयो ।
“चाडबाड नजिकिँदै गर्दा बजार क्षेत्रमा म्याद गुज्रेका तथा अखाद्यवस्तु बिक्री-वितरण हुनसक्ने भएकाले गाउँपालिकाले बजार अनुगमनलाई तीव्र पारेको हो”, उहाँले भन्नुभयो, “नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै पालिकाभित्र रहेका बजारमा रहेका होटल तथा पसलको अनुगमन गरिएको हो ।” गाउँपालिकाको वडा नं २ र ३ को मनकामना बजारको अनुगमनका क्रममा अधिकांश होटलले मूल्यसूची नराखेको, व्यवसाय वडामा दर्ता नगरी सञ्चालन गरेको भेटिएको उपाध्यक्ष तिवारीले जानकारी दिनुभयो । त्यस्तै होटल तथा किराना पसलमा म्याद गुज्रिएको पेयपदार्थ कोक, फ्रुटी, फेन्टा, बियरलगायत भेटिएको उहाँले बताउनुभयो ।
मूल्यसूची नराखेका व्यवसायीलाई मूल्यसूची राख्न अनुगमनका क्रममा निर्देशन दिइएको छ । उहाँले अटेर गरे कारबाही गरिने बताउनुभयो । उपाध्यक्ष तिवारीको नेतृत्वमा गरिएको अनुगमनका पालिका कर्मचारी, पत्रकार, स्थानीयवासीसमेतको सहभागिता रहेको थियो । गाउँपालिकाले शुक्रबारदेखि पालिकाभित्रका बजार अनुगमनलाई तीव्र पारेको छ ।
पालुङटारमा एकैदिन दुईवटा सहरी स्वास्थ्य केन्द्र सञ्चालन
गोरखाको पालुुङटार नगरपालिकामा थप दुईवटा सहरी स्वास्थ्य केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ । नगरपालिकाभित्र आधारभूत स्वास्थ्य सेवाको सहज सुविधा पुग्न नसकेका क्षेत्रका नागरिकमा सहज स्वास्थ्योपचार सेवा पुर्याउन शनिबार एकैदिन दुईवटा स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको नगरप्रमुख विवश चिन्तनले जानकारी दिनुभयो ।
नगरवासीका घरआँगनमै स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्देश्यले वडा नं २ को चापाभन्ज्याङ र वडा नं ३ को डुम्रेडाँडामा स्वास्थ्य केन्द्र सञ्चालन गरिएको उहाँले बताउनुभयो ।