विधेयक सदनमा आएपछि मात्र सांसदले थाहा पाउने अवस्थालाई सच्याउनुपर्छः सांसद चौधरी
-आस्था न्युज
असोज २१, २०८० काठमाडौं ।
प्रतिनिधिसभाका सदस्य अशोककुमार चौधरी खेलक्षेत्र सरकारको उपेक्षामा परेको बताउनुहुन्छ । खेलमैदान हुँदै सदनसम्म आइपुग्दा पटक-पटक सरकारको ध्यानाकर्षण गराउनुभएका सांसद चौधरीले सांसदसँग राससको संवादमा खेलक्षेत्रप्रति सरकार गम्भीर हुनुपर्ने कुरा दोहोर्याउनुभयो ।
“खेलाडी रहेमा नै खेल रहन्छ, खेलको माध्यमबाट देशको नाम विश्वमा चिनाउँदै देशको गौरव बढाउन सक्छौँ”, डोरीतान खेलाडी चौधरीले भन्नुभयो, “तर खेलक्षेत्रप्रति सरकारले उपेक्षा गरेको छ ।”
सांसद चौधरीले घोषणा गरेको उधारो पुरस्कार तत्काल उपलब्ध गराउन सरकार गम्भीर हुन आग्रह समेत गर्नुभयो । उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेर÷सहभागिता जनाएर फर्किएका खेलाडीलाई सरकारले रकम तोकेरै पुरस्कारको घोषणा गर्छ । दुःखको कुरा अहिलेसम्म पनि रु १७ लाखभन्दा धेरै रकम खेलाडीले पाएका छैनन् ।”
सन् २०१९ मा आयोजित १४औँ एसियाली डोरीतान प्रतियोगितामा सहभागिता जनाउनुभएका उहाँले साढे तीन वर्ष खेलाडीका रूपमा विभिन्न प्रतियोगितामा सहभागी हुनुभयो । उहाँले खेलाडीको व्यवस्थापन, उत्पादनमा र पारिश्रमिकमा समेत ध्यान पुर्याउनुपर्नेमा जोड दिनुभयो ।
खेलसँगै सामाजिक क्षेत्रका गतिविधिमा संलग्न हुने क्रममा राजनीतितर्फ झुकाव बढाउनुभएका सांसद चौधरी पछिल्लो समय नेपाली खेलाडी विदेशिने परिस्थितिप्रति चिन्तित हुनुहुुन्छ ।
सुनसरी जिल्ला इटहरी पचरुखी वडा नं ५ का स्थायी बासिन्दा चौधरीले विसं २०७० मा दोस्रो संविधानसभाको निर्वाचनमा सुनसरी क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवार भई राजनीतिक जीवनको प्रारम्भ गर्नुभएको थियो । विसं २०७१ पछि नेपाल परिवार दलमा आबद्ध हुँदै परिवार दलको तेस्रो अधिवेशनबाट जिल्ला सचिवको जिम्मेवारीमा समेत रहनुभयो ।
विसं २०७९ मा परिवार दल परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०मा आबद्ध हुनुभयो । रास्वपा प्रवेशपछि इटहरी नगर सचिवको जिम्मेवारी र प्रदेश नं १ को भेलाबाट नगर सभापतिको जिम्मेवारीमा रहनुभयो । रास्वपाको समानुपातिक सांसद चौधरी विधायिकाको भूमिकामा अपेक्षाअनुसार प्रभावकारी काम गर्न नसकेको स्वीकार्नुहुन्छ । समय–समयमा सदन अवरुद्ध हुने र सरकारले पर्याप्त व्यवसाय नदिने कारणले गर्दा कानुन निर्माणमा आफूहरूको भूमिका प्रभावकारी नदेखिएको उहाँको भनाइ छ ।