Trending :
 

कैलालीमा सालका कडीसहित तीन जना पक्राउ

आश्विन २१,२०८०

-आस्था न्युज

असोज २१, २०८० काठमाडौं ।
कैलालीको गोदावरी नगरपालिका-८ सूर्योदय सामुदायिक वन क्षेत्रबाट एक सय सात थान सालको कडीसहित तीन जना पक्राउ परेका छन् । 
 
पक्राउ पर्नेमा सुदूरपश्चिम प्रदेश ०१-००१ ख ३१५७ नम्बरको ट्रकका चालक बैतडीको पाटन नगरपालिका-८ का २५ वर्षीय सिद्धराज भट्ट, सोही ठाउँका ट्रकका साहु ४२ वर्षीय देवराज भट्ट र काठका साहु गोदावरी नगरपालिका-८ का २८ वर्षीय मदन छेडाल छन् ।  
 
इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार प्रहरी सहायक निरीक्षक धर्मराज भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई ट्रकमा सालका कडी ढुवानी गर्दागर्दै पक्राउ गरेको हो । आज बिहान ४ बजे रु तीन लाख मूल्यका सालका कडी, ट्रकसहित उनीहरुलाई पक्राउ गरिएको हो । 
 
प्रहरीले घटनाको थप अनुसन्धान गरी कारबाहीका लागि सबडिभिजन वन कार्यालय अत्तरियामा बुझाउने तयारी गरेको डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले बताउनुभयो । 
 
यसैगरी कैलालीको घोडाघोडी नगरपालिका-८ का दोर्जे शाही ३० दशमलव ७५ क्यूफिट चिरान काठ र ८३ क्यूफिट गोलियासहित पक्राउ परेको डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ ।
 
शाहीले आमफाँटामा सञ्चालन गरेको मोहन्याल फर्निचर उद्योगभित्रबाट काँचो सालका नौ गोलिया, १२ थान चिरान गरेका कडी र २४ थान पटरासहित पक्राउ गरिएको  डिभिजन वन कार्यालय पहलमानपुरका वन अधिकृत गौचरण चौधरीले बताउनुभयो ।