अनुकूल मौसम बनेसँगै मनाङका होटलमा पर्यटक भरिभराउ
-रासस
असोज २१, २०८० काठमाडौं ।
हिमाली जिल्ला मनाङमा भ्रमण गर्न अनुकूल मौसम बनेसँगै पर्यटक आगमन बढे्को छ । विश्वकै जोखिमयुक्त मानिएको अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै गएको हो । पर्यटक आगमन बढ्दै गएपछि यहाँका होटल तथा पर्यटन व्यवसाय भरिभराउ भएका छन् ।
दिनप्रतिदिन मनाङअन्तर्गतको अन्नपूर्ण पदमार्ग चयालमान बन्दै गएको छ । दुई वर्ष कोभिडका कारणले गर्दा पूर्ण रुपमा बन्द रहेको पदमार्गमा अहिले बाटोभरि विदेशी पर्यटक आउँदै गरेको देखिन्छन् ।
मनसुन लम्बिए पनि यहाँ आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । मौसममा सुधार हुनासाथ पर्यटक आगमन बढेको यहाँका होटल व्यवसायी बताउँछन् । हिमपात भएको समयमा पदयात्रा गर्दा जोखिम बढी हुने भएकाले यस समयमा पदयात्रा गर्न सहज हुने जिल्लास्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालयले जनाएको छ ।
पदमार्गअन्तर्गत लमजुङको बेँसीसहरदेखि पर्यटक पैदलयात्रा गरिरहेको देखिने आयोजना इलाका कार्यालयका प्रमुख ढकबहादुर भुजेलले बताउनुभयो । उहाँले सिजन सुरु भएसँगै यहाँ पर्यटकको चहलपहल बढेको भन्दै दैनिक एक सय ५० देखि दुई सयसम्म पर्यटक मनाङ भित्रिन थालेका जानकारी दिनुभयो ।
प्रमुख भुजेलले भन्नुभयो, “मनाङ भित्रिएका पर्यटक विश्वकै उच्च स्थानमा रहेको तिलिचो ताल ९चार हजार नौ सय १९ मिटर०, विश्वकै १०औँ स्थानको जोखिमयुक्त पदमार्गअन्तर्गतको थोराङ्ला पासतर्फ जाने गरेका छन् ।” सन् २०२३ को सुरुआतदेखि सेप्टेम्बरसम्म १२ हजार दुई सय बाह्य पर्यटक भित्रिएको ९एक्याप० इलाका कार्यालयले जनाएको छ । एक्यापका अनुसार गत वर्ष सन् २०२२ मा सार्क राष्ट्रका आठ सय ४३ र अन्य गरी १९ हजार पर्यटक भित्रिएका थिए ।
सन् २०२३ को सुरुआतमा नै ४२ देशका पर्यटक मनाङ भित्रिएका भुजेलले जानकारी दिनुभयो । सन् २०२३ को जनवरीमा ४२ देशका नागरिकले मनाङ भ्रमणका लागि प्रवेश गरेको तथ्याङ्क रहेको आयोजना इलाका कार्यालयले जनाएको छ ।
उहाँका अनुसार जनवरीमा सबैभन्दा बढी कोरियाका ६९ नागरिक भ्रमणका लागि आएको तथ्याङ्क छ । “विशेषगरी हिउँदमा यहाँ चिसो र हिमपात हुन्छ । यस वर्ष हिउँ पर्न सकेन, हिउँदमा हिउँ खेल्न पर्यटक आउने हो । सिजन सुरु भएपछि अहिले पर्यटक यहाँ भित्रिन थालेका छन्”, भुजेलले भन्नुभयो । नयाँ वर्षको योजनाअनुरुप कोरियाका पर्यटक भ्रमणमा आएको उहाँले बताउनुभयो ।