पोखरामा ‘किताब मेला’ सुरु
-आस्था न्युज
असोज २२, २०८० काठमाडौं ।
चाडबाडलाई लक्षित गरी पोखरामा ‘किताब मेला’ सुरु भएको छ । आइतबारदेखि न्यूरोडस्थित हिमालयन रिडर्स कर्नरले किताब खरिदमा विशेष छुट योजनासहित मेला सुरु गरेको हो । रिडर्स कर्नरका सञ्चालक विजय भण्डारीका अनुसार आउँदो कात्तिक चार गतेसम्म किताब मेला जारी रहने छ ।
दसैँ, तिहारजस्ता पर्वका अवसरमा पाठकलाई सहुलियत दरमा पुस्तक उपलब्ध गराउन मेला आयोजना गरिएको उहाँले बताउनुभयो । “रिडर्स कर्नरको यो छैटौँ किताब मेला हो”, उहाँले भन्नुभयो, “चाडबाडको यामलाई किताबको किनमेल र पठन संस्कृतिसँग जोड्ने हाम्रो ध्येय हो ।”
मेलामा किताब खरिद गर्दा विभिन्न छुट योजना ल्याइएको छ । रु १९ सय ९९ को किताब खरिदमा १० प्रतिशत, रु दुई हजारदेखि ३४ सय ९९ सम्मको किताब किन्दा १५ प्रतिशत, रु ३५ सयदेखि ४९ सय ९९ सम्मको किताबमा २० प्रतिशत छुट पाइनेछ । रु पाँच हजारदेखि माथिको किताब किन्दा २५ प्रतिशत छुट र दुई वटा किताब सित्तैमा दिइने सञ्चालक भण्डारीले बताउनुभयो ।
पुस्तकालयका लागि रु १० हजारदेखि रु २५ हजार नौ सय ९९ सम्मको नेपाली साहित्यका किताब खरिद गर्दा २० प्रतिशत र अङ्ग्रेजी भाषाका किताब किन्दा १५ प्रतिशतसम्मको छुट पाइने जनाइएको छ । यस्तै नेपाली साहित्यतर्फ रु २६ हजारदेखि रु ४९ हजार नौ सय ९९ सम्मको किताबमा २५ प्रतिशत र अङ्ग्रेजी किताबमा २० प्रतिशत छुटको व्यवस्था रहेको उहाँले बताउनुभयो ।