चाँडपर्वको मुखमा चिनीको व्यापक अभावः दसैँ अगाडि चिनी आउने सम्भावना छैन
-आस्था न्युज
असोज २२, २०८० काठमाडौं ।
नेपालीहरूको मुख्य चाड दसैँ-तिहारकै मुखमा बजारमा चिनीको हाहाकार मच्चिएको छ । न्यून स्वदेशी उत्पादनसँगै अन्तर्राष्ट्रिय बजारबाट समेत समयमै चिनी आयात हुन नसक्दा चाडबाडकै बेला बजारमा चिनीको व्यापक अभाव देखिएको हो ।
प्रतिकेजी १६० रुपैयाँ तिर्न तयार हुँदासमेत सर्वसाधारण उपभोक्ताहरूले चिनी पाउन सकेका छैनन् । उसो त सरकारी दुई व्यापारिक संस्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट्र ट्रेडिङ कर्पोरेसनमा समेत चिनीको स्टक क्लियर अर्थात् मौज्दात सकिएको छ ।
आइतबारदेखि दसैँ–तिहार विशेष सुपथ पसल सञ्चालन गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनी अभावकै कारण आफ्ना बिक्री केन्द्रहरूमा राखिएका मूल्य सूचीमा चिनी समावेश नगरिएको जानकारी दिएको छ ।
‘हामीसँग चिनीको स्टक निकै कम छ । सुपथ पसल उद्घाटनको दिन सम्ममा जम्मा ७२० केजी मात्र चिनी थियो । यो पनि आजबाट सकिदैछ’ कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले भनिन्, ‘स्टकमै नभएपछि उपलब्ध मूल्य सूचीमा चिनी राखेनौँ ।’
आइतबारदेखि खुल्ला गरिएको सुपथ मूल्य पसलमा आउने ग्राहकलाई प्रतिव्यक्ति २ किलोका दरले चिनी उपलब्ध गराइएको न्यौपानेको भनाइ छ । अघिल्लो दिनै हारालुछको अवस्थामा चिनी बिक्री भएकोमा दोस्रो दिनमै चिनीको स्टक सकिनेवाला छ । यसपछि भने आफ्नो कुनै पनि बिक्री केन्द्रमा चिनी नहुने उनको भनाइ छ ।
‘जति छ, बेच्छौँ । थप चिनी भने आउने सम्भावना छैन,’ न्यौपानेले भनिन्, ‘नयाँ टेन्डरमा जाने हो भने पनि कम्तीमा ४५ दिनको समय चाहिन्छ । दसैँअगाडि चिनी आउने सम्भावना भएन,’ उनले भनिन् ।