Trending :
 

उपभोक्तामाथि ठगी गर्ने खालको कुनैपनि काम नगर्न उद्योगमन्त्री रिजालको निर्देशन

मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको स्वीकार:

आश्विन २२,२०८०

-आस्था न्युज

असोज २२, २०८० काठमाडौं ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उपभोक्तामाथि ठगी गर्ने खालको कुनैपनि काम आफूबाट हुनै नसक्ने बताएका छन् । 
 
सोमबार संघीय संसद् प्रतिनिधि सभा अन्तगतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले आफूले उपभोक्ताको नाममा बदमासी गरेको प्रमाणित भए तत्काल पदबाट राजीनामा दिने समेत बताए । 
 
मन्त्री रिजालले चाडपर्वका बेलामा पनि दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको स्वीकार गर्दै आगामी दिनमा त्यसमा सुधार गर्दै लैजाने प्रतिबद्धता समेत व्यक्त गरे । उनले कालो बजारी गर्नेहरुलाई सोही अनुसारको दण्डसजायको व्यवस्था गर्न कानूनकै अभाव रहेको गुनासो समेत गरे । 
 
मन्त्री रिजालले उपभोक्ताहरुमाथि ठगी गर्नेहरुलाई गरिएको दण्डसजाय असुली गर्न सरकारसँग कुनै मेकानिजमनै नभएको पनि पटकपटक बताए ।
 
बैठकमा बोल्दै सत्तारुढ दलका सांसदहरुले नै चाडपर्वलाई ध्यानमा राखेर सरकारले आम उपभोक्तामा हित हुनेगरी आवश्यक व्यवस्था मिलाउन नसकेको गुनासो गरे । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले चिनी जस्ता चाडपर्वमा अतिआवश्यक बस्तुको समेत व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना गरे । उनले साल्ट ट्रेडिङ र खाद्य संस्थानले आफ्नो काम गर्न नसकेको भन्दै त्यसलाई खारेज गर्नुपर्ने अवस्था आएको पनि बताए ।
 
कांग्रेसकै अर्का सांसद अर्जुननरसिंह केसीले चाडपर्वका बेला बजार अनुगमन गरेपनि सरकारले जनताको चाहना अनुसार सस्तो मूल्यका वस्तुहरुको उपलब्धता गराउन नसकेको बताए । उनले मूल्यवृद्धि निरन्तरको प्रक्रिया जस्तो बन्दा पनि त्यसलाई नियन्त्रण गर्न सरकार लागि नपरेको गुनासो गरे  ।
 
सांसद केसीले मुलुकमा वित्तिय अराजकताको शुरुवात भइरहेकोतर्फ पनि सरकारलाई सचेत गराए ।