बाढीका कारण रोजगारीका लागि सिक्किम पुगेका इलामका १० नेपाली सम्पर्कविहीन
-आस्था न्युज
असोज २२, २०८० काठमाडौं ।
रोजगारीका लागि सिक्किम पुगेका इलामका १० नेपाली सम्पर्कविहीन भएका छन् ।
असोज १७ गते सिक्किमा भीषण वर्षापछि बाढी पहिरो गएको थियो । घटनापछि इलामका १० जना सम्पर्कविहीन भएका हुन् । सम्पर्कविहीन मध्ये पाँच जना एकै गाउँका छन् ।
उनीहरुलाई सम्पर्कको प्रयास गर्दा सम्पर्क हुन नसकेको र अवस्था पनि थाहा हुन नसकेको इलाम ९ गोलखर्कका विक्रम लिम्बूले बताए । सम्पर्कविहीन भएका पाँच जना लिम्बूका छिमेकी हुन् । ८ दिनदेखि सम्पर्कविहीन भएकाहरुको खोजी गर्दा अवस्था पत्ता नलागेको उनले बताए ।
उनका अनुसार इलाम ९ गोलखर्कका ४० वर्षीय सेनबहादुर कार्की९सानु० ३० वर्षीय लाक्पा शेर्पा, सोही स्थानकी नरमाया बस्नेत, कुमार बस्नेत र खुशी बस्नेत सम्पर्कविहीन छन् ।
अन्य पाँच जनाको विवरण नखुलेको उनले बताए ।
बेपत्ता भएकाहरु सिक्किमको लाचेन क्षेत्रमा काम गर्न गएका थिए । सोही क्षेत्रमा अत्याधिक वर्षापछि टिष्टाको बाँध फुटेर बाढी आएको थियो । बाढीमा परी २२ जना सैनिकसहित १०५ जना बेपत्ता भएको भारतीय सञ्चार माध्ययमले जनाएका छन् ।