नेपालमा पहिलोपटक पारिवारिक इजलास स्थापना
-आस्था न्युज
असोज २३, २०८० काठमाडौं ।
नेपालमा पहिलोपटक पारिवारिक मुद्दा छिन्ने इजलास स्थापना भएको छ । छुट्टै अदालती संरचना भएको विशिष्टीकृत अदालतजस्तो नभए पनि पारिवारिक, देवानी प्रकृतिका मुद्दाहरू छिन्नका लागि सोमबारदेखि पारिवारिक इजलास छुट्याइएका हुन् ।
काठमाडौं जिल्ला अदालतका दुईवटा इजलास पारिवारिक मुद्दा हेर्नका लागि छुट्याइएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उक्त इजलासको उद्घाटन गरेका थिए । सोमबार न्यायाधीश दुर्गाबहादुर भुसाल र माधवप्रसाद मैनालीको भिन्दाभिन्दै इजलासमा यस प्रकृतिका मुद्दाको सुनुवाइ भएको थियो ।
‘पारिवारिक इजलासबाट महिला वादी भएका लगाउ नभएका अंश, नाता कायम, घरेलु हिंसा र बालबालिकाको संरक्षक भई दायर भएका अंश, विशेष हेरचाहलगायत बालबालिकाको हितसँग सम्बन्धित देवानी प्रकृतिका मुद्दाहरूको सुनुवाइ हुने’ जिल्ला अदालतबाट जारी सूचनामा छ ।