Trending :
 

समाजवादी मोर्चाले जिल्ला तहमा सन्देशसभा गर्दै

आश्विन २३,२०८०

-आस्था न्युज

असोज २३, २०८० काठमाडौं ।
समाजवादी मोर्चाले गण्डकी प्रदेशका ११ वटै जिल्लामा सन्देशसभा गर्ने भएको छ ।  मोर्चाको गण्डकी प्रदेश संयोजन समितिको सोमबार पोखरामा बसेको बैठकले मोर्चामा रहेका चार दलका दुई–दुई जनाको प्रतिनिधित्व हुने गरी असोज महिनाभित्रमा जिल्ला संयोजन समिति गठन गरी सन्देशसभा गर्ने निर्णय गरेको हो ।
 
समाजवादी मोर्चामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी०, जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी रहेका छन् । जिल्लास्तरीय सन्देशसभाको व्यवस्थापनका लागि गोरखा, स्याङ्जा, म्याग्दी र मनाङको जिम्मेवारी माओवादी केन्द्रलाई दिइएको छ । 
 
यसैगरी कास्की, मुस्ताङ र पर्वत एकीकृत समावादी, नवलपुर र लमजुङ जनता समाजवादी पार्टी तथा बागलुङ र तनहुँ जिल्लाको सन्देशसभा व्यवस्थापनको जिम्मेवारी नेपाल कम्युनिष्ट पार्टीलाई तोकिएको मोर्चाका प्रदेश संयोजक एवं नेकपा ९माओवादी केन्द्र० गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङले बताउनुभयो ।
 
उहाँका अनुसार बैठकले मोर्चाका शीर्षनेताहरूको उपस्थितिमा गत भदौ १५ गते पोखरामा आयोजना गरिएको प्रदेशस्तरीय सन्देशसभाको समीक्षालगायतका विषयमा छलफल गरिएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादका मौलिक विशेषताहरूको पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने प्रतिबद्धताका साथ समाजवादी मोर्चा स्थापना भएको उहाँले बताउनुभयो ।