किष्ट शिक्षण अस्पतालद्वारा एकै व्यक्तिको मिर्गौला र कलेजो प्रत्यारोपण सफल

आश्विन २३,२०८०

-आस्था न्युज

असोज २३, २०८० काठमाडौं ।
ललितपुरस्थित किष्ट शिक्षण अस्पतालले चिकित्सा क्षेत्रमा दुर्लभ प्रत्यारोपण गरेको छ । नेपालमै पहिलो पटक एक जना बिरामीको दुई महत्वपूर्ण अंगको एकै पटकमा प्रत्यारोपण गरेको हो ।
 
अस्पतालका निर्देशक प्रा।डा सुरज बज्राचार्यले सोमबार चितवन भरतपुरकी ३४ वर्षीया महिलाको कलेजो र मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको जानकारी दिए ।
 
‘हामीले एकै व्यक्तिको शरीरका महत्वपूर्ण अंग (कलेजो र मिर्गौला) दुवैको एक साथ प्रत्यारोपण सफल गरेका छौं । जुन नेपालको इतिहासमै पहिलो पटक हो,’ डा. बज्राचार्यले भने ।
 
उनलाई ३५ वर्षीय श्रीमानले उनलाई कलेजो दिएका थिए भने ३२ वर्षीया भाउजूले मिर्गौला दान गरेकी हुन् ।
 
बिरामी महिलामा जन्मजात रोग (प्राइमरी हाइपरोक्सालुरिया) देखिएको थियो । कलेजोका कारणले दुवै मिर्गौला बिग्रिएका थिए ।
 
मिर्गौला बिग्रिएर उनले अस्पतालबाट डायलाइसिस सेवा लिइरहेकी थिइन् । कलेजोबाट निस्किएको विषाक्त रयासनका कारण मिर्गौला खराब भएको हुन पुगेको थियो । जसको कारण बिरामीको दुवै अंग एकैसाथ प्रत्यारोपण गर्नुपरेको अस्पतालले जनाएको छ ।
 
प्रत्यारोपण गर्न १८ घण्टाभन्दा बढी समय लागेको र १०० जना भन्दा बढी जनशक्ति परिचालन भएको बज्राचार्यले बताए ।