Trending :
 

विशेषज्ञ सेवा विस्तार गर्दै जानकी मेडिकल कलेज

आश्विन २३,२०८०

-आस्था न्युज

असोज २३, २०८० काठमाडौं ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-१ रामदैया भवाडीमा रहेको जानकी मेडिकल कलेज शिक्षण अस्पताल दक्षजनशक्ति उत्पादनका साथै विशेषज्ञ स्वास्थ्य सेवा विस्तारमा केन्द्रित हुन थालेको छ ।
 
विगत २३ वर्षदेखि चिकित्सा सेवाका विभिन्न विधामा दक्षजनशक्ति उत्पादनका साथै नागरिकलाई आधारभूत चिकित्सकीय सेवा प्रदान गर्दै आएको अस्पतालले अत्याधुनिक उपकरण र पूर्वाधारसहित सेवा विस्तारमा ध्यान केन्द्रित गरेको अस्पताल निर्देशक प्रा डा धर्मदत्त सुवेदीले बताउनुभयो । 
 
सुरुका केही वर्ष आन्तरिक तथा अन्य व्यवस्थापकीय चुनौती सामना गर्नुपरे पनि पछिल्ला केही वर्षयता व्यवस्थापन सुधारमार्फत गुणस्तरीय शिक्षा तथा विशेषज्ञ सेवा केन्द्रीत कार्यक्रममा सम्पूर्ण ध्यानदिन थालिएको प्रा डा सुवेदीले बताउनुभयो । “सुरुका केही वर्ष व्यवस्थापनसँग जोडिएका समस्या र प्रश्नले हामीलाई घेरिरह्यो । तथापि शैक्षिक गतिविधि र नागरिकलाई प्रदान गर्ने सेवाबारे हामी सधैँ सचेत थियौँ”, उहाँले भन्नुभयो, “पछिल्ला पाँच वर्षयता व्यवस्थापन सुधारदेखि शिक्षण अस्पतालका शैक्षिक गतिविधि र नागरिकलाई घरआँगनमै बढीभन्दा बढी स्वास्थ्यसेवा प्रदान गर्ने गरी हामी अगाडि बढेका छाँै । ती पहलकदमीको सकारात्मक परिणाम विस्तारै देखिन थालेका छन् ।”
 
शिक्षण अस्पतालका प्रबन्ध निर्देशक श्रीप्रसर्ट पाण्डेले विगतका वर्षमा व्यवस्थापकीय कमजोरी र स्थानीय नागरिकको अविश्वासका कारण उत्पन्न समस्यालाई केलाएर तिनको समाधान गरी शैक्षिक वातावरण सुधार र चिकित्सकीय सेवा विस्तारमा अगाडि बढ्न थालिएको बताउनुभयो ।   
 
“हाम्रो मूल ध्येय नेपालमै चिकित्सा क्षेत्रका लागि आवश्यक दक्षजनशक्ति उत्पादन गर्ने र मधेश प्रदेशका आम नागरिकलाई गुणस्तरीय, भरपर्दो र सुलम विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने हो”, पाण्डेले भन्नुभयो, “यस अर्थमा शैक्षिक कार्यक्रममार्फत नेपाली मात्रै होइन छिमेकी भारतीय विद्यार्थी पनि लाभान्वित भइरहेका छन् । त्यसैगरी स्वास्थ्य सेवाका हिसाबले मधेस प्रदेशका आम नागरिकलाई काठमाडौँ धाउनुपर्ने बाध्यताबाट मुक्ति दिन यहीँबाट स्वास्थ्य सेवा प्रदान गर्न हामी निरन्तर सेवा विस्तारमा लागेका छौँ ।”
 
विसं २०६० देखि पठनपाठन सुरु गरेको मेडिकल कलेज शिक्षण अस्पताल केही समय शेयरधनीबीच विवादका कारण समस्यामा फसेको थियो । पटक–पटकको विवाद र चुस्त व्यवस्थापकीय प्रबन्धको अभावमा विद्यार्थी, कर्मचारी तथा स्थानीयलाई विश्वासमा लिन नसक्दा बन्द, हडताल एवं असन्तुष्टिको सिकारसमेत भयो । त्यहीबीचमा सबैभन्दा ठूलो शेयरधनीको रुपमा रहेका ओपी ९ओमप्रकाश० पाण्डे परिवार व्यवस्थापन समूहबाट बाहिरियो तर समस्या बल्झिदैँ गएपछि पुनः एकल स्वामित्व रहने गरी पाण्डे परिवारले अस्पताल व्यवस्थापनको जिम्मा लिएको छ  ।
 
“दक्षजनशक्ति उत्पादन गर्ने र आम नागरिकलाई स्वास्थ्य सेवा दिने जिम्मेवारीमा रहेको अस्पताललाई सधैँ यस्तो अवस्थामा राख्नुहुँदैन भनेर हामीले जिम्मेवारी लियौँ । आर्थिक रुपमा हाम्रो लगानी भए पनि यो आम नागरिकको सार्वजनिक सम्पत्ति हो । यही सोचेर आफ्ना अरु सबै सम्भावना छोडेर यसै अस्पतालको व्यवस्थापनमा लागेका छौँ”, प्रबन्ध निर्देशक पाण्डेले रासससँग भन्नुभयो ।