Trending :
 

जीर्ण भवनको साटो अब विद्यार्थीले व्यवस्थित भवनमा पढ्न पाउने

आश्विन २३,२०८०

-आस्था न्युज

असोज २३, २०८० काठमाडौं ।
शिक्षा क्षेत्रमा सुधार ल्याउनका लागि दाता र स्थानीय तहको साझेदारीमा निर्माण गरिएको विद्यालय भवन हस्तान्तरण गरिएको छ ।
 
जीर्ण भवनको ठाउँमा व्यवस्थित कोठाहरु भएको भवन बनेपछि विद्यार्थीहरुलाई पठनपाठनमा सहज हुने भएको छ ।
 
मुगुको छाँयानाथ रारा नगरपालिका वडा नम्बर २ मा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा रहेका भवनहरु जीर्ण बन्दै गएपछि बालबालिकालाई पठनपाठनमा समस्या थियो । 
 
त्यही समस्यालाई ख्याल गर्दै छाँ-या नेपाल संस्थाको २७ लाख र छाँयानाथ रारा नगरपालिकाको १५ लाख रुपैयाँ गरी ४२ लाखमा भवन बनाइएको हो ।
 
उक्त भवन छाँ-या नेपालले छायाँनाथ रारा नगरपालिकालाई हस्तान्तरण गरेको हो । साझेदारीमा बनाइएको दोस्रो तल्लाको ४ कोठे भवनका कारण बालबालिकालाई सहज हुने भएको छ ।
 
छाँ-या नेपाल काठमाडौ र छाँयानाथ रारा नगरपालिकाले भवन तथा अन्य बिभिन्न क्षेत्रमा सहयोग गदै आएकामा दाताहरुलाई धन्यवाद दिंदै प्रधानध्यापक दिलिपकुमार शाहीले सहयोगको सदुपयोग गर्ने बताए ।
 
पछिल्लो समयमा दाताहरुले एक बिद्यालयमा एकमात्र क्षेत्रमा काम गदै आएकामा छाँ–या नेपाल र नगरपालिकाले सहयोग विस्तार गरेका छन् ।
 
विद्यालयमा भौतिक पूर्वधार, घेराबारा, भवन, खेल मैदान, शैक्षिक सामग्री, करेसाबारी लगायत सुविधा भएको छ ।
 
हाल उपलब्ध पूर्वाधार र सहयोगमा प्राप्त पूर्वाधारलाई सही तरिकाले प्रयोगमा ल्याउने साथै संरक्षण गर्ने काममा ध्यान दिनुपर्ने शिक्षा बिकास तथा समन्वय ईकाइ मुगुका प्रमुख सूर्यबहादुर खत्रीले बताए ।
 
छाँ–या नेपालले नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा दृष्टिविहीन विद्यार्थीसहित अरु विद्यार्थीलाई पनि सहयोग गर्दै आएको छ ।
 
समुदायका नागरिकहरुले आफ्ना बालबालिकालाई निजी विद्यालयमा भन्दा सामुदायमा विद्यालयमा पठनपाठन गराउन छाँयानाथ रारा नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष परेकराज चौलागाईले आग्रह गरे ।
 
नगर प्रमुख विस्नुकुमार भामले अब नगरपालिकाले शिक्षा क्षेत्रमा बढी लगानी गर्ने बताए ।
 
उक्त विद्यालयमा छात्रभन्दा छात्राको संख्या बढी छ । पढाइ राम्रो भएको साथै भौतिक पूर्वाधार पनि व्यवस्थित हुँदै आएपछि अभिभावकहरु विद्यालयमा आकर्षित भएका छन् ।
 
उक्त विद्यालयमा पढेका बालबालिकाको भविष्य पछि राम्रो हुने विश्वास छाँ–या नेपाल काठमाडौका अध्यक्ष सबिना कोलेजले व्यक्त गरिन् ।